आज चन्द्रग्रहण, खाली आँखाले नहेर्न सुझाव



काठमाडौं:  आज सन् २०१९ को पहिलो चन्द्रग्रहण लाग्दैछ। नेपालसहित विश्वका विभिन्न भू–भागबाट चन्द्रग्रहणको अवलोकन गर्न सकिने खगोलविद्हरुले बताएका छन्। वर्षा, कुहिरो तथा बादलका कारण भने चन्द्रग्रहण अवलोकनमा समस्या पर्नसक्ने बताइएको छ।

चन्द्रग्रहण आज राति ९ः१८ः५४ बाट सुरु भई मध्यरात १२ः३५ः३९ सम्म रहने छ। ३ घन्टाभन्दा बढी समय लाग्ने ग्रहण नेपालसहित मध्यपूर्व, उत्तर र दक्षिण अमेरिका, युरोप तथा अफ्रिका महादेशका अधिकांश मुलुकबाट स्पष्टसँग देख्न सकिने छ। ग्रहण सकेसम्म खाली आँखाले नहेर्न खगोलविद्हरुले सुझाएका छन्। दुरबीन, पानीलगायतका माध्यमबाट ग्रहण अवलोकन गर्न सकिने छ।

चन्द्रग्रहणको समयमा स्नान, जप, ध्यान तथा दान गर्न उपयुक्त हुने विश्वास गरिन्छ। यसबीचमा गहुँ, धान, चना, मसुरो, चिनी, चामल, कालो रङको कम्बल, चाँदीलगायत दान गर्दा ग्रहणको दोष नलाग्ने जनविश्वास छ।

प्रतिक्रिया दिनुहोस्