कांग्रेसको विरोधले दुवै सदन अवरूद्ध



काठमाडौं : पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका २ पूर्वसभापतिका नाममा स्थापित अस्पताल सरकारले विघटन गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको छ ।

पूर्वाग्रही रूपमा सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताल खारेज गर्न खोजेको आरोप सोमबार बसेका प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा लगाउँदै कांग्रेसले सदन अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुृर महराले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिए । कांग्रेस उपसभापतिसमेत रहेका उपनेता गच्छदारले जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई सरकारमातहत ल्याउने निर्णय सरकारले नगरेसम्म सदन चल्न नदिने अडान राखेका थिए ।

‘जबसम्म सरकारले ती २ अस्पताललाई संघीय सरकारको मातहत ल्याउने गरी निर्णय गर्दैन, कांग्रेस कुनै पनि हालतमा सदन सञ्चालन गर्न दिँदैन’, उनले स्पष्ट पारे । पुस १९ गतेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्रालयले ११ अस्पतालसम्बन्धी प्रस्ताव पेस गरेकोमा ९ अस्पताललाई सरकार मातहत राख्ने निर्णय गरेको थियो ।

बाँकी २ अस्पतालबारे कुनै निर्णय भएन । पूर्वपार्टी सभापतिद्वयका नाममा खोलिएका अस्पतालबारे सरकार मौन भएपछि कांग्रेस सरकारसँग आक्रोशित भएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्