‘चौंरीका हामी नै सरकार, हामी नै गोठालो’



रामेछाप : फुरिन्जीको गोठको लोभलाग्दो ‘सेराङ’ बिरामी परेर मरेको एक वर्ष भयो । ५ बेते ‘सेराङ’ बिरामी परेदेखि फुरिन्जीका आँखा ओभाएनन् । ‘घाँसै नखाने, र्‍याल चुहाइरहने, केही खाइहाले पनि ओकल्थ्यो,’ फुरिन्जी भन्छन्, ‘मैले जानेको कुडीलगायतको जडिबुटीबाट औषधि बनाएर ख्वाएँ । तर केही सीप चलेन । १२ दिन जति बँचाएँ, त्यसपछि मर्‍यो । 

गोठमा रोग लागेर मरेको ‘सेराङ’ मात्र हैन, अरू धेरै चौंरी त्यसैगरी मरे । १०–१२ वटा जति । लेकमा चौंरीलाई रोग लागेपछि बचाउने औषधि पाइँदैन । माथिल्लो गुम्देलमा सरकार पुग्दैन । पशु प्राविधिकहरूको मुख चौंरीले पुलुक्क पनि हेर्न पाउँदैनन् । को डाक्टर अनि के औषधि ? चौरीपालक किसानलाई थाहा छैन । आजभन्दा अघि त भएन नै, अहिले पनि छैन । गुम्देलमा रहेका सबै २० वटा गोठका किसानको समस्या एउटै हो ।

चौंरी बिरामी पर्‍यो कि उनीहरू भगवान् सम्झन्छन् । जडिबुटी खोज्छन्। बाबुबाजेको पालादेखि सिकेको औषधि बनाएर खुवाउँछन् । गोठ नछोडी हेरचाह गर्छन् । केही सन्चो पनि हुन्छन्, धेरैचाहिँ मरेकै छन् । तेछिमका गेल्जे शेर्पा भन्छन्, ‘सरकार धेरैवटा छन् तर चौंरीको व्यथा हेर्ने सरकार छैन,’ शेर्पा भन्छन्, ‘चौंरीका हामी नै सरकार अनि हामी नै गोठालो ।’

चौंरीपालक किसानलाई सघाउन सरकारले कुनै कार्यक्रम गुम्देलमा लगेको छैन । कैयौं स्थानमा सुरक्षित बाटो छैन । खोलाहरूमा काठेपुल छैन । वडाले चौंरी गोठका लागि कार्यक्रम दिएको छैन । प्रदेश र केन्द्र सरकारको के कुरा ? फुरिन्जी भन्छन्, ‘चौंरीबारे स्थानीय सरकार नै बेखबर छ , चौरीपालन पेसालाई जिल्लाकै चिनारी बनाउन सकिन्थ्यो । चौंरी पर्यटन क्षेत्रको विकास गर्न मिल्थ्यो । केही गरेको छैन, अहिलेसम्म ।’

पाँच वर्षअघि गुम्देलमा चौंरीपालक किसानलाई सघाउन जिल्ला पशु सेवा कार्यालयले याक ल्याइदियो । सोलुबाट खरिद गरेर गुम्देल ल्याएको उक्त याक आँखै हेर्न नसकेर मर्‍यो । माथिल्लो लेकमा हुने याक गुम्देलमा फापेन । 

त्यसपछि उनीहरूमाथि थप बज्रपात परेको छ । कार्यालयले निजी डेरी उद्योग स्थापनाका लागि सहयोग गरेको थियो । सहयोग बन्द भयो, डेरी पनि बन्द भए । केन्द्र सरकारले जिल्लामा भएको पशु कार्यालय खारेज गरेपछि सदरमुकाम आएर पनि डाक्टरको सल्लाह लिनसमेत नपाउने अवस्था छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्