संकटमा चरा



सौराहा : आहारा र वासस्थान असुरक्षाका कारण संरक्षण सूचीमा रहेका चरा संकटमा परेका छन्। पानी र जमिनमा आश्रित दुवै प्रजातिका चरा लोप हुने जोखिममा छन्। चराको अवस्था चिन्ताजनक रहेको चराविद् डीबी चौधरीको भनाइ छ। ‘पहिला प्रशस्त देखिएका चरा हराउन थाले’, उनले भने, ‘चरा कुनै देशको कथा नबनोस् भन्ने हाम्रो चिन्ता हो।’

चितवन राष्ट्रिय निकुञ्जमा गरिएको अनुगमनले हाँस प्रजाति लोप हुने खतरा देखाएको छ। जल प्रदूषणका साथै जलवायु परिवर्तनका कारण तालतलैया सुक्दै जाँदा चरालाई असर परेको सरोकारवालाको भनाइ छ। वासस्थान पाउन छाडेपछि चरा भारतर्फ गएको अनुमानसमेत गरिएको छ। पानी प्रदूषण र जमिनमा चराअनुकूल घाँस नहुँदा अन्यत्र जाने गरेको चराविद् टीका गिरीको भनाइ छ।

‘जसरी अन्य जीवजन्तु संरक्षण प्रयास गरिएको छ त्यसअनुसार चरामा भएको देखिँदैन’, उनले भने, ‘कति लोप भइसके, भएका चरा पनि न्यून देखिन थालेका छन्।’ सिमसारमा आश्रित चरा पानी प्रदूषणका कारण संकटमा परेको उनको भनाइ छ। निकुञ्जमा यो वर्ष गरिएको गणनामा २ सय १७ प्रजातिका चरा फेला परेका छन्। २५ प्रजाति पानीमा आ िश्रत छन्। चखेवा र चखेवी बढी देखिएका छन्।

यसको संख्या ४ हजार ४ सय ८० छ। यो गत वर्षभन्दा १ हजार ६ सय ३१ बढी हो। हरेक वर्ष जनवरीमा विश्वव्यापी रूपमा चरा गणना गरिन्छ। चितवनमा यसपटक गरिएको गणनामा ११ हजार २२ चरा भेटिए। पानीमा आ िश्रत ८ हजार ४ सय ९६ वटा भेटिएका छन्। निकुञ्जको पूर्वी सेक्टरमा ग्रेट ह्वाइट फ्रोन्डेड गुज र राजा गंगा चील पहिलो पटक देखापरेका छन्।

नेपालमा देखिने देव हाँस, गुलाबी टाउके हाँस, सिमसार क्षेत्रमा पाइने खोया हाँस कम देखिएको छ। खर मयुर, भ्याकुर, ठूलो धनेश संकटमा छन्। अघिल्ला वर्षको तुलनामा चरा कम देखिन थालेपछि चराविद् चिन्तित छन्। केही वर्षयता वासस्थान जोखिममा परेको चराविद् वासु बिडारीको भनाइ छ। ‘निकुञ्जका ताल सुक्ने र मिचाहा प्रजातिका घाँसका कारण चराको वासस्थान संकटमा छ’, उनले भने, ‘बेलैमा नसोचे एकादेशको चराजस्तो हुन बेर लाग्दैन।’

नेपालमा ८ सय ८७ प्रजातिका चरा छन्। यीमध्ये विश्वमै संकटमा रहेका १ सय ६८ प्रजातिका छन्। ४२ प्रजातिका चरा अति लोपोन्मुख अवस्थाका छन्। चितवनमा ६ सय ३६ प्रजातिमध्ये २८ प्रजातिका चरा लोपोन्मुख छन्। घाँसे मैदान नष्ट भएकै कारण चरा संकटमा परेका हुन्। संरक्षित क्षेत्रबाहेक अन्यत्र चराको संख्या घटेको छ। यसले सम्भावित प्रलयको संकेत गरेको चराविद् डा. हेमसागर बरालको भनाइ छ। ‘चराको घट्दो संख्या प्रलयको सूचक हो’, उनले भने, ‘चराका लागि मात्र चिन्ता होइन, भोलि हामीलाई पर्ने असरको संकेत हो।’

गर्मी याममा चरा कम आउन थालेका छन्। जाडो छल्न साइबेरिया, तिब्बतबाट चरा आउने गरेका हुन्। भारतबाट पिट्टा चरा पनि आउने क्रम घटेको छ। गत वर्ष स्वर्ग चरी कम देखिएको थियो। काफल पाक्यो चराको संख्या पनि कम भएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्