किन ढिला सुरु हुन्छ प्रदेशसभा २ बैठक 



जनकपुरधाम : प्रदेश २ सरकार गठन भएको सात महिना हुँदै गर्दा ३३ ओटा बैठक सम्पन्न भएका छन् । तर एकाध बैठकबाहेक प्रायः बैठक समयमै हुन सकेका छैनन् । यसले गर्दा प्रदेश २ सभामाथि नै आशंका थपिएको छ । 

 

प्रदेशसभा बैठक बस्न ढिला भए सूचना गर्नुपर्ने प्रावधान छ । तर, यस प्रकारको कुनै सूचना या जानकारी प्रदेश २ सभाले दिने गरेको छैन । 

प्रदेशसभा बैठक सधैं ढिलो सुरु हुने र यसले सबैलाई अप्ठेरो हुने गरेको कांग्रेसबाट  प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य प्रमिलादेवी दास बताउँछिन् । उनी भन्छिन्, ‘

यस्तो पाराले दिक्क लागिसक्यो, प्रदेशसभा सुरु भएको सात महिना हुन लाग्यो सधैं यस्तै चाल छ ।’

 

पत्रकारको जिज्ञासामा दासले भनिन्, ‘हामीले सभा ढिला हुनुको कारणबारे प्रदेशसभा अध्यक्षलाई पनि ध्यानाकर्षण गराइसक्यौं, तर चित्तबुझ्दो जवाफ कहिल्यै आएन ।’

भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाको भनाइ भने फरक छ । उनी भन्छिन्, ‘ हामी अझै नयाँ नै छौं, क्याबिनेट बैठकबाट विधेयक पारित भइसकेपछि मात्र संसदमा दर्ता हुने भएकोले प्रक्रियागत कारणले ढिलो भएको हो ।’ 

 

प्रदेश २ कांग्रेस संसदीय दलका नेता प्रदेशसभा सदस्य राम सरोज यादव भने विधेयकहरु आउन ढिला भएकाले निर्धारित समयमै प्रदेशसभा बैठक सुरु हुन नसेकेको बताउँछन् । उनी भन्छन्, ‘प्रदेश २ सरकारको काम गर्ने तरिका नै स्लो छ, त्यसैले सबै बैठक ढिलो सुरु हुँदै आएको छ ।’ 

 

तर, प्रदेश कार्य सञ्चालनको नियमानुसार प्रदेशसभा अध्यक्षले दुई घण्टासम्म समय लिन सक्ने कानुनी प्रावधान भएकाले प्रदेशसभा ढिला हुनु स्वाभाविक भएको प्रदेशसभा अध्यक्षका प्रेस सल्लाहकार प्रभाकरकुमार सिंहले बताए ।

 

सिंहका अनुसार प्रदेशसभा कार्य सञ्चालनसम्बन्धी नियमानुसार कार्य परामर्श समितिलाई पनि अधिकार प्रत्यायोजन गरिएको र सभाअध्यक्षसँग अन्य दलका संसदीय दलका नेता वा विपक्षका नेताले कुनै समयमा छलफल गर्न समय मागे दिनुपर्ने हुन्छ । धेरै विषयमा विमर्श गर्नुपर्ने भएकोले पनि निर्धारित समयमा सभाको बैठक बस्न ढिला हुने गरेको सिंह बताउँछन् । 

 

प्रदेश सभा २ को बैठक कार्यतालिका 

३३ औं बैठक बिहान ११ बजे भनिएकोमा एक घण्टा ढिलोगरी बसेको थियो । ३२ औं बैठक पनि ११ बजे भनिएकोमा झन्डै १ बजे सुरु भएको थियो । त्यस्तै असोज १९ गतेको ३१ औं बैठक पनि ११ बजे बस्ने पनि एक घण्टा ढिलो गरी सुरु भएको थियो । 

त्यस्तै ३०औं बैठक एक महिनापछि असोज १८ गते ३ बजे बसेको थियो । २९ औं बैठक भदौ १६ गते ११ बजे तोकिए पनि करिब १ बजे सुरु भएको थियो । 

(प्रदेशसभा २ सचिवालयले उपलब्ध गराएको समय तालिका)

प्रतिक्रिया दिनुहोस्