वरिष्ठ हास्य कलाकार श्रेष्ठको स्वास्थ्यमा सुधार



काठमाडौ : वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएको छ । 

 

अन्नपूर्ण न्युरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको सफल शल्यक्रिया गरिएको उल्लेख छ ।

 

शल्यक्रिया डा. रेशा श्रेष्ठ र डा. वसन्त पन्तले गरेका थिए । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या हुन थालेपछि देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो । यो रोगमा दिमागको दाँहिने भागमा समस्या देखिएमा देव्रेपट्टि शल्यक्रिया गर्नुपर्ने हुन्छ । 

 

उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित सञ्चालन गर्ने अस्पतालले जनाएको छ । कलाकार श्रेष्ठको देवे्रपट्टि पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्