पुरानै अवस्थामा फर्कंदै बाग्मती



काठमाडौं: 

बाग्मती भयो गन्हाउने

पशुपतिको छेवैमा बसेर

बाँदरले लुतो कन्याउने ।

नेपालका एक प्रसिद्ध लोकगायक बमबहादुर कार्कीको गीत हो यो । उनले यसअघिको बाग्मतीको दुर्दशालाई यस गीतमा पोखेका छन् । बाग्मतीको पानी शरीरमा परेपछि पशुपतिका बाँदरलाई पनि लुतोले छोएको र लुतो कन्याएको यथार्थता पाइन्छ यस गीतमा । तर, अहिले यस गीतको भाव इतिहास बनिसकेको छ । बाग्मतीले यतिखेर आफ्नो पुरानै स्वरूप ग्रहण गर्दै छ । अहिले गन्हाउँदैन बाग्मती । अहिले यसले बाँदर या मानिस कसैलाई पनि लुतो सार्दैन । पशुपतिका बाँदरलाई बाग्मतीकै पानीका कारण पशुपतिको छेउमा बसेर लुतो कन्याउनु पर्नेछैन । सिन्धुघाटीको सभ्यताजस्ता विश्वमा विकसित सभ्यताहरू नदी किनारबाट नै विकसित र व्यवस्थित हुँदै गएको तथ्यजस्तै नेपालको सन्दर्भमा पनि बाग्मती एक पुरानो सभ्यता हो ।

काठमाडौं उपत्यकामा पोखरीका रूपमा रहेको पानीलाई चोभारको गल्छीबाट निकास गरिएदेखि नै बाग्मतीको तटीय क्षेत्रमा बस्ती विकसित हुँदै गएको छ । बाग्मती नदी उपत्यकाको धार्मिक, सांस्कृतिक र आर्थिक गतिविधिको प्रमुख स्रोत रहँदै आएको इतिहासबाट थाहा हुन्छ । नेपालका आराध्यदेव पशुपतिनाथले नुहाउने र उनको दर्शनका लागि जाने भक्तजनले श्रद्धापूर्वक ग्रहण गर्नेजस्तो पवित्र जलको सभ्यताको पहिचान लगभग हराउने हो कि भन्ने त्रासले सबैलाई चिन्तित तुल्याएको थियो । बाग्मतीको फोहोर व्यवस्थापनका नाममा धेरै संस्था मात्र खुलेनन्, धेरैको माग्ने भाँडो पनि बन्यो । बाग्मतीमा वर्षौंसम्म ढल बग्यो र जसका कारण नुहाउनु त के छुन पनि नसक्ने अवस्था आयो । बाग्मतीलाई नछोईकनै परैबाट नमस्कार गरेर फर्किन बाध्य थिए भक्तजन । ‘अब पशुपति आउँदा बाग्मतीमा नुहाएरै पूजा गर्न पाइने भयो, मलाई निकै खुसी लागेको छ,’ ७३ वर्षीय वृद्ध सामदेव भण्डारीले भने, ‘बाग्मतीका यी दिन नआउला कि भन्ने चिन्तामा थिएँ । बाग्मती माताको आफ्नै स्वरूप देखेर मर्न पाइने भयो ।’

बाग्मतीमा ढल होइन, जल बग्न थालेपछि पशुपतिमा पुग्ने जो कोहीले पनि नीलो त होइन, सफा जल देख्न पाएका छन् । यही गति र रूपमा बग्ने हो भने आगामी केही वर्षमै बाग्मतीमा नीलो जल नै बग्नेछ । बाग्मतीको आफ्नै स्वरूपले मात्र हाम्रो सभ्यताको पुनरागमन गराउनेछ ।

बाग्मतीको यो स्वरूपको पहिलो श्रेय नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललाई जान्छ । बाग्मतीमा हिजोआज बग्न थालेको सफा जलमा उनको परिश्रम पनि मिसिएको छ । उनकै अगुवाइले नै बाग्मती सफाइमा सरकारी, निजी क्षेत्र र आमसमुदायको साथ–सहयोग जुटेको छ । हरेक शनिबार उनी हातमा ग्लोब र बुट लगाएर बाग्मतीको हिलोमा देखापरेपछि अरू कर्मचारी र समाजका धेरै व्यक्तित्व पनि उपस्थि हुन थालेका हुन् ।

सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर लामो पथमा बाग्मती नदी कतै हरियो खेतीयोग्य फाँटहरू त कतै विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिसहित गोकर्ण, गुह्येश्वरीजस्ता धार्मिक र पुरातात्विक सम्पदाहरूलाई छुँदै र कतै बाक्लो मानवबस्ती हुँदै बगेको छ । मानवबस्तीको विकाससँगै विभिन्न क्रियाकलाप नदी तटीय क्षेत्रमा बढ्दै जाँदा नदी प्रदूषित र अतिक्रमित हुँदै गएको हो ।

बाग्मती नदी र यसका सहायक नदीलाई स्वच्छ एवं सफा गरी बाग्मती क्षेत्र र त्यसवरपरको प्राकृतिक, पुरातात्विक, सांकृतिक तथा धार्मिक सम्पदा र सभ्यताको संरक्षण र संवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्न सरकारले २०५२ सालमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरेको थियोे । समितिले नदी नियन्त्रण, ढल निर्माण, सडक निर्माण तथा हरियाली क्षेत्रको विकासमा जोड दिएको छ । समितिले २०५७ सालमा नेपालकै पहिलो गुह्येश्वरीमा फोहोर पानी (ढल) प्रशोधन केन्द्र निर्माण गरी गोकर्णदेखि गुह्येश्वरीसम्मको फोहोर पानीको प्रशोधन गर्न थालेको हो । तर, बढ्दो सहरीकरणले दैनिक तीन करोड लिटर फोहोर पानी प्राप्त हुने गरेकाले पूर्ण रूपमा प्रशोधन हुन सकेको छैन ।

बाग्मतीमा सुक्खायाममा पानीको बहाव बढाउन धाप क्षेत्रमा २४ मिटर अग्लो बहाव बनाई पानी संकलन गर्ने र सुक्खायाममा दैनिक ४५० लिटर प्रतिसकेन्डका दरले ११ करोड लिटर पानी बाग्मतीमा छोड्ने योजना बनाइएको छ । बाग्मती नदी र यसका सहायक नदीनालालाई स्वच्छ र प्रदूषणमुक्त बनाई बाग्मती नदीको पूर्ववत् पहिचान कायम गराउन समिति आफैंले ९ माघ २०६९ बाट ‘बाग्मती नदी संरक्षण तथा सरसफाइ अभियान’ सुरु गरेको थियो । विभिन्न संघसंस्थाको स्वतःस्फूर्त सहभागितामा ५ जेठ २०७० बाट बाग्मती सफाइ महाअभियान नामकरण गरी हरेक शनिबार बाग्मती सफाइ कार्यक्रम सुरु गरिएको हो ।

त्यसैगरी, शिवपुरी जलाधार क्षेत्रको विकास गर्ने, विष्णुमती, मनोहरा, हनुमन्ते, धोवीखोला, कोङकु, नक्खु, टुकुचा आदि नदीको सुधार गर्ने, बाग्मती जलाधारमा आउने बाढीको भविष्यवाणी गर्ने कार्यक्रम रहेको पनि छ । यस्ता कार्यक्रमले बाग्मतीको सुधार हुने र बाग्मती सभ्यताले जीवन्तता पाउनेमा आशावादी बन्न सकिन्छ । २०७० सालको जेठअघिसम्म बाग्मती र धोवीखोला कोरिडोरलगायतका उपत्यकाका नदीको अवस्था यस्तै बेहाल रहेको थियो । भविष्यमा स्वच्छ र हरियाली बाग्मती बनाउने भन्दै सुरुमा पाँचवटा संघसंस्था मिलेर सुरु गरेको बाग्मती सरसफाइ अभियानले निरन्तर २९७ साता पूरा गरिसकेको राजधानीमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्