सरकारविरुद्ध यस्तो छ प्रतिपक्ष कांग्रेसको रणनीति



काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सदन संघर्ष जारी राखेका बेला पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले समेत विभिन्न माग राख्दै बुधबार काठमाडौंमा बृहत् सडक प्रदर्शन गरेको छ । माउ पार्टी कांग्रेस संसद्मार्फत सरकारविरुद्ध आक्रामक भइरहेका बेला नेविसंघले सडक आन्दोलन गर्दै सरकारलाई खबरदारी गरेको हो । नेविसंघले बुधबार राजधानीमा सरकारविरुद्ध बृहत् सडक प्रदर्शन गरेको छ नेविसंघ केन्द्रीय समितिको आयोजनामा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा सरकारको अधिनायकवादी शैलीविरुद्ध नेविसंघका नेता कार्यकर्ता प्लेकार्डसहित सहभागी भएका थिए ।

नेविसंघले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई ६ महिना बित्दासमेत सरकारले पक्राउ गर्न नसकेको, चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीसँग आफैंले गरेको सहमति कार्यान्वयन नगरेको, सरकार माफियाको चंगुलमा फसेको, पछिल्लो समयमा महँगीले सीमा नाघेको, हत्या तथा बलात्कारका घटना बढेको भन्दै सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेको हो ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले सरकार अनुदार रूपले चिकित्सा शिक्षा विधेयक पास गर्ने रणनीतिमा लागेपछि सदनभित्र र बाहिर सशक्त प्रतिरोध गर्ने नीति कांग्रेसले लिएका कारण नेविसंघ सडक आन्दोलनमा उत्रिएको बताए । ‘सरकार अनुदार रूपले चिकित्सा शिक्षा विधेयक पास गर्ने रणनीतिमा लाग्यो, एकपछि अर्को गर्दै जनविरोधी काममा सरकार अघि बढ्यो, पार्टीले सदन र बाहिरबाट हामी सरकारलाई सचेत गराउछौं,’ अध्यक्ष महरले प्रदर्शनपछि आयोजित कोणसभामा भने ।

महामन्त्री कुन्दनराज काफ्लेले कम्युनिस्ट सरकारले जनताप्रतिको उत्तरदायित्व बिर्सिएकाले प्रदर्शनमा उत्रिन नेविसंघ बाध्य भएको जनाए ।‘मेडिकल शिक्षाको सुधारको माग राखेर अनशन बसेका डा. केसीको माग कम्युनिस्ट सरकारले सुनुवाइ गरेन, निर्मला पन्तका बलात्कारी र हत्यारालाई समेत यो सरकारले पक्राउ गर्न सकेन,’ काफ्लेले भने, ‘सरकारलाई जनताप्रति उत्तरदायी बनाउन र निरंकुशता रोक्न नेविसंघ प्रदर्शनमा उत्रियो ।’नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले सरकारले दुई तिहाइको बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको र जीपी कोइराला श्वासप्रश्वास केन्द्र तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खारेज गर्न खोजेको भन्दै नेविसंघ सरकारविरुद्ध प्रदर्शनमा उत्रिन बाध्य भएको जनाए ।

मंगलबारसमेत नेविसंघले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारीसहित आधा दर्जन नेता कार्यकर्ता घाइते भएका थिए । कांग्रेसकै युवा संगठन तरुण दलले समेत सरकारविरुद्ध सातै प्रदेशमा आन्दोलनको घोषणा गरेर प्रदर्शनमा होमिसकेको छ । मंगलबार दलले प्रदेश १ को विराटनगरबाट आन्दोलन सुरु गरेको थियो । यस्तै, बुधबार दलले प्रदेश २ को जनकपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा कांग्रेस नेताहरू आनन्द ढुंगाना, रामकृष्ण यादवसहितका नेतासमेत सहभागी भएका थिए । माउ पार्टी कांग्रेसले सरकारले डा. केसीसँगको सहमतिका लागि आफ्नो पालाको अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जस्ताको त्यस्तै संसद्मा लैजान सरकारलाई संसद्मार्फत दबाब दिँदै आएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्