आपँको रुखमाथि सुत्केरी भइन् अमेलिया



मापुतो : पानीमा उत्रिइरहेका शव, सडकमा असरल्ल ढलेका रुख र बिजुली खम्बा। ठाउँ ठाउँमा चर्किएको जमिन। सिकिस्त घाइते र ज्यान जोगाउन जता पायो त्यतै फाल तोडिरहेका मानिस।

यस्तै एउटा आँधीहुन्डरी ‘इडा’ चलिरहेका बेला अफ्रिकी राष्ट्र मोजाम्बिकमा एक महिला आँपको रुखमा सुत्केरी भएकी छन्। हालैको इडाका कारण आएको बाढीबाट जोगिन मोजाम्बिकको मध्य भूभागमा अमेलिया २ बर्से छोरासहित आँपको रुखमा चढेकी थिइन्। त्यसैबेला उनले छोरी सारालाई जन्म दिइन्।

आँधीको दुई दिनपछि मात्र रुखमा सुत्केरी भएकी अमेलिया, उनकी नवजात छोरी र उनका २ बर्से छोराको उद्धार छिमेकीले गरेका थिए। इडाले ७ सयभन्दा बढीको ज्यान लिएको छ।

मोजाम्बिकमा यस्तो ‘मिराकल बेबी’ जन्मेको २० वर्षयता दोस्रो हो। यसअघि २० वर्षअघि मोजाम्बिकको दक्षिणी भूभागमा बाढीका बेला यसैगरी रोजिटा माबुंगो रुखमाथि जन्मेकी थिइन्।

अमेलियाले युनिसेफसँग भनिन्, ‘म छोरासँग घरमा बसिरहेका बेला एक्कासी घरभित्र बाढी पस्यो। बाढीबाट जोगिन छोरा लिएर रुख चढ्नुबाहेक मसँग अर्को विकल्प थिएन।’ अमेलिया एकल महिला हुन्। अहिले भने उनी दुवै सन्तानसहित दोम्बे भन्ने ठाउँनजिक एउटा अस्थायी घरमा शरण लिएकी छन्। आमाछोरी दुवै स्वस्थ्य छन्।

२० वर्षअघि  जन्मेकी ‘मिराकल बेबी’ रोजिटा भने यतिबेला १९ वर्षीया युवती भइसकिन्। उनी जन्मेपछि एउटा हेलिकप्टरले उनलाई बाढीबाट सुरक्षित उद्धार गरेको थियो र यो समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चित भएको थियो।

‘म रोएँ, कराएँ, चिच्याएँ’, अमेलियाले स्थानीय एउटा अखबारसँग भनिन्, ‘कतिपल्ट मलाई लाग्थ्यो कि शिशु निस्कँदैछ, तर फेरि मलाई लाग्थ्यो कि भोको पेट भएकाले सुत्केरी हुन लागेजस्तो महसुस भएको हो कि जस्तो पनि लाग्थ्यो।’ उनले इडामा प्रायःजसो सबैले केही न केही गुमाए, तर आफूले भने पाएको बताइन्।

रोजिटाले बिबिसीसँगको कुराकानीमा सरकारले आफूलाई छात्रवृत्ति दिने घोषणा गरेको बताइन्। साथै सरकारले उनलाई सरकारी खर्चमा अमेरिकामा अध्ययन गराउने वचन दिएको तर केही पनि नगरेको गुनासो गरिन्। उनी भन्छिन्, ‘मेरो सबै अध्ययन खर्च मेरी आमाले नै बेहोरिन्। सरकारले मलाई केही पनि दिएन।’

तैपनि उनी सरकारले आफूलाई एउटा घर बनाइदिएको भने स्विकार्छिन्। अहिले भने घर जीर्ण भइसकेको छ। पानी पर्दा घरभित्र चुहिने उनले बताइन्। उनी सरकारले घर मर्मत गरिदिने आसमा छिन्।

प्रतिक्रिया दिनुहोस्