पब्जीमाथि प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट



काठमाडौं : इन्टरनेटमा आधारित चर्चित गेम पब्जीमाथि सरकारी प्रतिबन्धको निर्णय खारेज गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अभिभावकले गुनासो गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमा साताअघि प्रतिबन्ध लगाएको थियो ।

पब्जीमाथिको प्रतिबन्ध असंवैधानिक र नेपाल पक्ष भएको कानुन विपरित भएको जिकिरसहित सर्वोच्चमा रिट दर्ता भएको हो । रिट निवेदकले सरकारी निर्णय बदरको माग गरेका छन् । 

रिट दर्ता गराउनेहरुमा अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक र रितेश पौड्याल तथा कानुनका विद्यार्थी विनय रिमाल छन् । नेपाल दूरसंचार प्राधिकरणले काठमाडौं जिल्ला अदालतको स्वीकृतिमा पब्जीमाथि प्रतिबन्ध लगाएको थियो । 

विश्वभर लोकप्रिय इन्टरनेट गेम पब्जीमाथि कयौँ देशमा प्रतिबन्ध लागिसकेको छ । युवाहरुको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको गुनासो आएपछि पब्जी प्रतिबन्ध गर्न इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुलाई प्रधिकरणले निर्देशन दिएको थियो।  

प्रतिक्रिया दिनुहोस्