नेकपामा ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लाग्यो



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको  टुंगो लगाएको छ । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता श्रेष्ठले बताए । पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बोलाइएको थियो ।

केही दिनपछि बस्ने बैठकले पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन पर्ने पनि उनले बताए ।

त्यस्तै सचिवालय बैठकले ७१ औं पार्टी स्थापना दिवसको अवसरमा भोलि सोमबार दिउँसो १ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्