जहाज दुर्घटनापछि अवरुद्ध मन्थली विमानस्थल सुचारु



रामेछाप : अवरुद्ध रामेछापको मन्थली विमानस्थल सुचारु भएको छ। सोमबार बिहान अवतरण गर्ने क्रममा तारा एयरको जहाज धावनमार्गमा चिप्लिएका कारण विमानस्थल अवरुद्ध भएको थियो।

लुक्ला जाँदै गरेको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी मन्थली विमानस्थलमा फर्केर अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको थियो। अवतरणका क्रममा जहाज फलामे खम्बामा ठोकिँदै धावनमार्ग छोडेर घाँसे चौरमा पुगेको थियो।

धावनमार्गबाट जहाज बाहिर गएपछि विमानस्थललाई जोखिम क्षेत्र घोषणा गरी जहाज आवागमन बन्द गरिएको थियो। चिप्लिएको जहाजलाई अपरान्ह सुरक्षित स्थानमा लगिएपछि विमानस्थल सुचारु भएको हो। विमानस्थल संचालनमा आए पनि लुक्लामा मौसम खराब भएका कारण आजका लागि कुनै पनि उडान हुन नसक्ने विमानस्थल कार्यालयले जनाएको छ।

चिप्लिएर दुर्घटनाग्रस्त भएको जहाजलाई तत्काल संचालन नहुने गरी थन्क्याइएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ। जहाजको समस्या समाधान गरी प्राविधिक पास पश्चात पुनः संचालनमा आउने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्