टिप्परमा ठोकिएको मोटरसाइकलमा लाग्यो आगो 



भक्तपुर : यहाँको सूर्यविनायक नगरपालिका-६ पाण्डोबजारमा टिप्परमा ठोक्किएर मोटरसाइकलमा आगो लागेको छ । टिपरमा ठोक्किएपछि नियन्त्रण गुमाउँदै सडकमा करिब १० मिटरसम्म धसारिएको मोटरसाइकलमा आगो लागेको हो । 

सडकमा धसारिएपछि आगो उठेको मोटरसाइकल जलेर पुरै नष्ट भएको छ । पाण्डोबजारबाट अरनिको राजमार्गतर्फ गइरहेको बा ४ ख ५७३४ नम्बरको टिपरमा सूर्यविनायकबाट काठमाडौंतर्फ जाँदै गरेको को २१ प ३९५४ नम्बरको मोटरसाइकल ठोक्किएपछि आगो लागेको  महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

पिच सडकमा धसारिएपछि मोटरसाइकलमा तत्कालै ठुलो ज्वालासहित आगो उठेको थियो । प्रहरीका अनुसार मोटरसाइकलको आगो दमकलले निभाएको छ । यो दुर्घटनामा रामेछापको उमाकुण्ड गाउँपालिका-३ का राजु गुरागाइँ र २६ वर्षीय गोविन्द गुरागाइँ घाइते भएका छन्। दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।  

घटनापछि प्रहरीले टिपर र चालक नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्