तीन आत्मघाती आक्रमणकारीको तस्बिर सार्वजनिक



कोलम्बो : श्रीलंकाभरि आइतबार भएका शृंखलाबद्ध आत्मघाती विस्फोटमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसको हात रहेको पुष्टि भएको दाबी केही सञ्चारमाध्यमले गरेका छन्।

श्रीलंकाभरि भएका विस्फोटमध्ये ३ जना आत्मघाती आक्रमणकारीको तस्बिर सार्वजनिक भएको छ।

इसाईहरूको चाड इस्टरका दिन आइतबार राजधानी कोलम्बोसहित ३ सहरका चर्च र पाँचतारे होटलमा भएका विस्फोटमा २ सय ९० जना मारिएका थिए।

टेलिभिजन च्यानलहरूले यी ३ आत्मघातीको नाम अबुल बर्रा, अबुल मुख्तार र अबु उबैदा रहेको उल्लेख गरेका छन्। सुरक्षा निकायहरू अझै पनि आइएसले उसको मुखपत्र मानिने अमाकलगायतबाट आक्रमणको जिम्मेवारी लिन्छ कि भनेर कुरेर बसेका छन्।

सार्वजनिक भएका आत्मघातीका तस्बिर सही हुनसक्ने दाबी विशेष सूत्रले गरेको सञ्चारमाध्यमले जनाएका छन्। सार्वजनिक तस्बिरमध्ये जाहरान हासिन उग्रवादी संगठन एनटिजे (नेसनल तवाहिद जमात) का सञ्चालक मानिन्छन्।

एक जना सुरक्षा अधिकारीले बाहिर आएका नाम ठीक त्यस्तै छन्, जुन आइएसले आफ्ना संस्थापक अबु बकर अल बगदादीप्रति पूर्ण समर्पित लडाकुहरूको नाम राख्छ।

३ आत्मघातीका तस्बिरमध्ये उबैदाको अनुहार मात्र चिनिन्छ, २ जनाले अनुहारमा नकाब लगाएका छन्। सुरक्षा अधिकारीहरू ती २ जनाको पनि पहिचान गर्ने प्रयासमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्