स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित



काठमाडौँ ।  मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो ।

स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय २४ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए । उनलाई अन्य ब्याटरले राम्रो साथ दिएका थिए ।निकोलस पोरनले ३४, दीपक हुड्डाले नकआउट १७ रन, कप्तान केएल राहुलले १६ र देवदत्त पडिकलले १३ रन बनाएका थिए । चेन्नईका मथिसा पथिरानाले २, दीपक चहर र मुस्ताफिजुर रहमानले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको चेन्नईले कप्तान रितुराज गायकवाडको शतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । गायकवाडले नटआउट रहँदै १ सय ८ रन बनाए । ६० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे ।

शिवम दुवेले अर्धशतक बनाए । रनआउट हुनुअघि शिवमले २७ बलमा ७ छौंका र ३ चोका साथ ६६ रन बनाए । रविन्द्र जडेजाले १६ र ड्रेल मिचेलले ११ रन जाडेका थिए ।

महेन्द्रसिंह धोनीले १ बलमा नकआउट १ चौका प्रहार गरे । लखनउका लागि म्याट हेनरी, मोसिन खान र यश ठाकुरले समान १ विकेट लिए । लखनउ ८ खेलमा ५ जित र ३ हारका साथ १० अंकसहित चौथो स्थानमा उक्लेको छ । दोस्रो स्थानको कोलकाता नाइट राइडर्स र तेस्रो स्थानका सनराइजर्स हैदरावादको पनि समान १० अङ्क छ ।

८ अङ्कका साथ चेन्नई पाँचौँ स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अङ्क छ । आइपिएलमा बुधबार दिल्ली क्यापिटल्स र गुजराज टाइटेन्सबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्