नेपालीस्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने



काठमाडौँ : नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महिनापछि अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ। यही वैशाख ४ गते प्रक्षेपित भूउपग्रह वैशाख ६ गते अपराह्न ३:३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालिस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तर्राष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रविधि संकायका प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए।

’उक्त भूउपग्रह अन्तरिक्ष यान पृथ्वीको सतहबाट ४०० किमीको उचाइमा रही अन्तर्राष्ट्रिय केन्द्रमा जोडिन सफल भएको छ’, उनले भने, ’नाष्टले सूचना प्रवाहका लागि निर्माण गर्न लागेको ग्राउन्ड स्टेशनका साथै जापानको ग्राउन्ड स्टेशनबाट संयुक्त रूपमा यस भूउपग्रहले अबको करिब डेढ महिनापछि स्वतन्त्र रूपमा अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नेछ ।’ वैशाख ४ मा अमेरिकाको भर्जी्नियास्थित वाल्ओप्सदीप नाशाको रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको आपूर्तिका लागि एनजी ११ अन्तर्गत अमेरिकी पूर्वीय दिवा समय अपराह्न ४ः४६ बजे ( वैशाख ५ गते नेपाली समयानुसार बिहान २ः३१ बजे) प्रक्षेपण भएको थियो।

सो भूउपग्रहको आकार (१० सेमी गुणा १० सेमी गुणा १० सेमी) रहनाका साथै तौल (१.५ किग्रा) छ। भूउपग्रहका नाम नेपालको नेपालीस्याट–१, श्रीलंकाको रावन–१ र जापानको यूवुसु राखिएका छन्। सो भूउपग्रहबाट प्राप्त तस्बिर वा अन्य तथ्याङ्क व्यावसायिक प्रयोजनका लागि योग्य हुने छैनन्। नाष्टले यो प्रविधि नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको हो। जापानी अन्तरिक्ष अन्वेषण संस्था जाक्सालाई उक्त तीन साना भूउपग्रह निर्माणका लागि नमुना तथा सम्पूर्ण परिश्रण गर्न लगाइएको बताइएको छ।

नेपाल सरकारले नेपालमा सन् २०१७ देखि उक्त कार्यक्रमको सुरुआत गरेको हो। नेपालले भूउपग्रह निर्माणको काम गर्न सक्दैन भन्ने बुझाइ चिर्दै सकारात्मक सन्देश छाड्न सफल भएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए। नाष्टले ग्राउण्ड स्टेसन निर्माणका लागि १५ दिनभित्र आवश्यक सामग्री पाएमा त्यसको दुईदेखि तीन दिनभित्र सूचना प्रवाह गर्न सक्नेछ । भूउपग्रहले एक पटकमा पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ।

नाष्टको ग्राउण्ड स्टेशनमा दुईदेखि तीन कम्प्युटर जडान गरी सूचना प्रवाह गरिने योजना छ। भूउपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ। प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ। भूउपग्रहको आयु तीन महिनादेखि तीन वर्षसम्मको हुने बताइएको छ। हालै प्रक्षेपित भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामरा जडान गरी दुईतर्फी सञ्चार गर्नका लागि लामो दूरीको तार जडान भएको नाष्ट प्रवद्र्धन महाशाखा प्रमुख रमिला रावतले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस्