ओरालाे लाग्याे सेयर बजार, दैनिक १ अर्बभन्दा कम काराेबार



काठमाडाैं : अघिल्लो सातादेखि दैनिक कारोबार १ अर्बभन्दा कम हुँदै जान थालेपछि सेयर काराेबार घट्दै जान थालेकाे छ। बजार घट्ने क्रममा रहेकाले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्। दुवै सातामा चार दिन मात्र कारोबार भएको छ। गत साताको तुलनामा कारोबार रकम २६ दशमलव ६१ प्रतिशत घट्न पुगेको हो।

सातामा नेप्से परिसूचक १५ दशमलव शून्य ४ अंकले घटेको छ। गत साताको अन्तिम दिन जेठ २३ गते नेप्से १ हजार २८४ दशमलव ५९ विन्दुमा पुगेर बजार बन्द भएको थियो भने यस साताको अन्तिम दिन जेठ ३० गते १ हजार २६९ दशमलव ५५ विन्दुमा बन्द भएको छ। गत सातदेखि १ हजार ३०० विन्दु तल आएको परिसूचक माथि जान सकेको छैन। परिसूचक १ हजार ३०५ विन्दुसम्म पुगेर ओर्लिएको हो।

गत साताको तुलनामा बजार पुँजीकरण १ दशमलव शून्य ७ प्रतिशतले घटेको छ। गत साताको बिहीबार रू.१५ खर्ब ९६ अर्ब रहेको बजार पूँजीकरण जेठ ३० गते बिहीवार रू. १५ खर्ब ७९ अर्ब रहेको छ। नेप्सेले मापन गर्ने ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स २ दशमलव शून्य ८ अंकले घटेको छ। गत साताको बिहीवार जेठ २३ गते २७३ दशमलव ८९ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स जेठ ३० गते २७१ दशलमव ८१ विन्दुमा आइपुगेको छ।

यो साता ६८ लाख ७७ हजार ५६३ कित्ता शेयरको रू. २ अर्ब ५ करोड बराबरको शेयर कारोबार भएको छ। गत सातामा ८३ लाख ६६ हजार २५५ कित्ता शेयरको रु.२ अर्ब ७५ करोड बराबरको शेयर कारोबार भएको थियो। गत साताको तुलनामा कारोबार रकम रू. ७० करोड ५९ लाखले घटेको हो।

एक महीनामा नेप्से परिसूचक ४५ दशमलव ९० अंकले घटेको छ। वैशाख ३१ गते र जेठ ३० गतेको तुलनामा नेप्से सो अंकले घट्न पुगेको हो। वैशाख ३१ गते १ हजार ३१५ दशमलव ४५ विन्दुमा रहेको नेप्से परिसूचक जेठ ३० गते १ हजार २६९ दशमलव ५५ विन्दुमा आइपुगेको छ।

एक महिनामा नेप्से ३ दशमलव ४९ प्रतिशतले घट्न पुगेको छ। साथै, कारोबार रकम ५६ प्रतिशलते घटेको छ ।वैशाख ३१ गते रू.१ अर्ब ३ करोडको शेयर कारोबार भएको थियो भने जेठ ३० गते रू.४५ करोडको कारोबार भएको छ ।एक महीना बजार पूँजीकरण ३ दशमलव २७ प्रतिशतले घटेर रू.१५ खर्ब ७९ अर्बमा आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस्