महिला सशक्तिकरणको पहिलो खुड्किलो ‘बेटी पढाउ बेटी बचाउ’ : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्तिकरणको पहिलो खुडकिलो ‘बेटी पढाउ बेटी बचाउ’ भएको बताएका छन् । 

महोत्तरीको गौशाला नगरपालिका २ स्थित श्री मावि निगौलमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार मुख्यमन्त्री राउतले पितृसतात्मक समाजका कारण विभेदमा परेका महिलाहरुलाई शिक्षित बनाई समाजको हरेक तहमा स्थापित गराउने लक्ष्य आफुहरुले राखेको उल्लेख गरे ।  

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण, माघ ५ गते यता जन्मिएका बालिकाहरुको लागि शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयका निर्माण, महिलाहरुको लोकसेवा कक्षाको तयारी जस्ता कार्यक्रमहरु निरन्तर रुपमा अघि बढि रहेको उनले बताए ।  

महिलाहरुलाई शिक्षित नबनाएसम्म समृद्धिको लक्ष्य प्राप्त गर्न सम्भव नरहेको उल्लेख गर्दै यनले उनले प्रदेश सरकारको यस महाअभियान स्थानीय सरकार, समाजिक संघसंस्था, अभिभावकहरुलाई सहभागि हुन मुख्यमन्त्रीले आग्रह गरेका छन् । 

प्रदेश सरकारले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभइ रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गरे । मुख्यमन्त्री राउतले प्रदेश प्रहरी, निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने मुलुककै पहिलो प्रदेश बनेको बताए । 

कक्षा ८ मा अध्ययनरत सो विद्यालयका ४३ जना छात्राहरुलाई साइकल उपलब्ध गराइएको हो । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाह, प्रदेशसभा सदस्य भरत प्रसाद साह, समाजसेवी एवं समाजवादी पार्टीका नेता लक्ष्मी महतो, समाजवादी पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र यादव, केन्द्रिय सदस्य नवल यादव, विनोद महतोसहितको उपस्थिति रहेको थियो । 

यस अघि मुख्यमन्त्री राउतले गौशाला नपास्थित बान्हटोलमा भएको कटानको निरीक्षण, गौशाला माविमा समाजसेवी लक्ष्मी महतो निजी लगानीमा निर्माण हुने द्वारको शिलान्यास, प्रदेश सरकारको लगानीमा र्दुगा मन्दिरमा भएको सौन्दर्यीकरणको निरीक्षणका साथै गौशालास्थित मस्जिद र मदरशाको निरीक्षण समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्