निर्मला हत्या प्रकरणको एक वर्ष : जवाफदेही बन्न सकेन सरकार



काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुगेको छ । आज साउन १० गते (शुक्रबार) निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको हो ।   

गत वर्ष २०७५ साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडा बस्ने १३ वर्षीया निर्मलाको शव साउन ११ गते बिहान करिब ९ बजे उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो ।  

निर्मलाको शव भेटिएको उखुवारी नजिकै लेडिज साइकल, साइकलको हेन्डिलको रड, बाँयाखुट्टाको चप्पल, ३ वटा कापी र कालो पोलिथिनमा अम्बा भेटिएको प्रहरीद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । 

निर्मलाको हत्या भएको एक वर्ष वित्दा पनि प्रहरीले अझै दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीले निर्मलाको शव र घटनासँग जोडिएका केही भौतिक वस्तुका आधारमा हत्यारा पत्ता खोज्नतिर लाग्यो तर विडम्ना हत्याराको सुइको समेत लगाउन सकेन । 

निर्मलाको बलात्कार र हत्या आरोपमा प्रहरीले गत भदौ ३ गते दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गर्यो । तर, विष्टको डीएनए निर्मलाको शवबाट संकलित ‘अभियुक्तको डीएनए’ सँग नमिलेपछि विष्ट हिरासतमुक्त भए ।   

Image result for nirmala panta

यता प्रहरीले घटनामा संलग्न नभएको व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको आरोपमा प्रहरीको चौतर्फि विरोध भयो । पक्राउ परेका विष्टलाई निर्मलाको हत्या गरेको स्वीकार्न अनेक दबाब दिइएको समेत आरोप प्रहरीमाथि लाग्यो । 

विष्ट रिहा भएपछि पनि प्रहरीले धेरै व्यक्तिहरुलाई विभिन्न ठाउँबाट निर्माला हत्यामा संलग्न भएको आरोपमा पक्राउ गर्यो । तर, मुख्य आरोपी अहिलेसम्म पक्राउ गर्न सकेन । 

कञ्चनपुर आन्दोलन 

निर्मला बलात्कारपछि हत्याको विरोधमा सडकदेखि सदनसम्म आन्दोलन चर्कियो । कञ्चनपुरको न्यायको लागि मुलुक नै आन्दोलित भयो । ठाउँ–ठाउँमा निर्मलाको न्यायको लागि आन्दोलन गरियो । तर, न निर्मलाले न्याय पाइन् न त उनको आरोपी नै पक्राउ परे । 

तत्कालीन प्रहरी नेतृत्वले प्रमाण नष्ट गरेको, निर्दाेषलाई फसाउन खोजेको र हत्यारालाई बचाउन खोजेको भन्दै महेन्द्रनगरलगायत देशभरका सडक तात्यो । तर, हत्यारा पत्ता लागेन उल्टै आन्दोलनका क्रममा प्रहरीले गोली चलाउदा १ जनाको मृत्यु भयो । मृत्यु हुनेमा भीमदत्त–१८ सालघारीका १३ वर्षीय सन्नी खुना छन् । खुनालाई सरकारले सहिद घोषणा गरेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले उनको परिवारलाई जम्मा १८ लाख राहत पनि दियो ।

प्रहरी प्रशासन नै उथलपुथल 

निर्मला बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरी प्रशासननै उथलपुथल भयो । निर्मला हत्या प्रकरणमा दर्जन बढी टोली कञ्चनपुरमा खटाइयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकै तीन जना प्रहरी प्रमुख फेरिए । उनीहरुले निर्मला प्रकरणको समाधान गर्ने बादी समेत गरे । तर, घटना घटेको एक वर्ष वित्दा पनि सिंको समेत भाच्न सकेन ।  

Image result for nirmala panta

बरु अनुसन्धनका लागि खटेका प्रहरी उपरीक्षक (एसपी) कुवेरसिंह कडायत र दुर्गासिंह वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को बढुवामै छुटे ।  महानगरीय अपारध अनुसन्धान महाशाखाबाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका डीएसपी मनोहर भट्टलाई इलाका प्रहरी कार्यालय टीकापुर सरुवा गरियो । 

उता केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का निर्देशक निरज शाही भने अहिले कञ्चनपुरमै छन् । उनलाई निर्मला प्रकरणको ‘फलोअप’का  लागि कञ्चनपुरमै खटाइयो । 

छानबिन समिति गठन

गत वर्ष भदौ ७ गते गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाइयो । 

डीआइजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआइजी बसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्षमण गुरुङ र प्रदेश ७ सरकारका उपसचिव वीरेन्द्रबहादुर केसी रहेको समितिको म्याद १५ दिनको थियो । १५ दिन म्याद थपेर समितिले गृहमन्त्रालयलाई  प्रतिवेदन बुझायो ।  

Image result for nirmala panta

समितिले बुझाएको प्रतिवेदनमा निर्मला हत्या प्रकरणमा स्थानीय प्रहरीको लापरबाहीको कारण भएको देखिइयो । पदिलिप सिंह विष्टलाई चरण यातना दिएर अपराध स्वीकार गर्न लगाएको भन्दै वीरेन्द्रबहादुर केसीले प्रतिवेदनमाथि असन्तुष्ट जनाएका थिए । उनले जबरजस्ती अपराध स्वकार गर्न लगाउने प्रहरीमाथि मुलुकी अपराध (संहिता) ऐनको दफा ३६ अनुसार कारबाही गर्नुपर्ने माग समेत राखे ।

प्रतिवेदनमा प्रहरीकै लापरबाहीका कारण देखाउँदै तत्कालीन एसपी डिल्लीराज विष्टसहित प्रहरी अधिकारीहरुलाई विभागीय कारवाहीको सिफारिस छानविन समितिले गृहमन्त्रालयलाई गरेको थियो । 

साउन १२ र १३ गते अस्पताल परिसर र आसपासमा निर्मला हत्यारा पत्ता लगाउन कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन र साउन १४ गते विरोधकै बावजुद निर्मलाको दाहसंस्कार गरिएको थियो । 

कञ्चनपुरमा जतिपनि विरोध भइरहेको थियो त्यो प्रहरी प्रशासनले पीडित र स्थानीयवासीहरुलाई आश्वस्त पार्न नसककै कारण प्रदर्शन भएको थियो भन्ने गृहको प्रतिवेदनले स्वीकारेको छ । 

‘विविध माध्यमबाट शान्तिपूर्ण दबाव दिँदैआएको थियो । त्यस क्रममा स्थानीय हेलेन श्रेष्ठ र मीना भण्डारीको नेतृत्वमा संघर्ष समितिहरु पनि गठन भएका थिए ।’ गृहको प्रतिवेदनको छैठौं पृष्ठमा उल्लेख गरिएको छ । 

छानविन समितिको प्रतिवेदन     

प्रतिवेदनमा निर्मलाको बलात्कार र हत्या अन्तै भएको बताइएको छ । निर्मलाको शव फेला परेको उखुबारीमा उखुको एउटा बोट भाँचिएको थियो भने झाडी वा पातहरु भने केही नभएको उल्लखे छ । 

घटना अन्तै गराएर लास उखुबारीमा फालिएको हुन सक्ने निष्कर्षमा छानविन समिति पुगेको छ । तर, यो कार्य एकजना व्यक्तिबाट मात्रै नभएको छानविन समितिको विश्लेषण छ ।

‘लासलाई पानीमा घोप्टो पारेर फालिएकाले बलात्कारका कुनै पनि दशी प्रमाण लिन नसकिने गरी घटना अन्तै घटाई नियोजितरुपमा उखुबारीमा फालेको जस्तो देखिने । वारदात त्यही घटेको भए मृतकको मुखभित्र माटो, फोक्सोमा पानीको मात्रा हुनुपर्ने ।’ गृहको प्रतिवेदनमा ‘प्राप्त तथ्यहरुको मूल्यांकन र विश्लेषण’ खण्डमा भनिएको छ, ‘मृतकको कापी नभिजेको र मिलाएर राखेको अवस्था तथा जिल्ला प्रहरी कार्यालयमा रहेको उक्त दसीलाई हाल हेर्दा पनि नीलो जेलपेनले लेखेको नोटकापी समेत पानीको कुनै असर नपरेको र रातभरि पानी परेको भन्ने आम नागरिक तथा प्रहरी कर्मचारीहरुसमेतको भनाइले लास उखुबारीमा नियोजित ढंगले ल्याई राखेको अनुमान गर्न सकिने ।’

‘भिडियो फुटेज र सर्वसाधारणको भनाइअनुसार कापीहरु मिलाएर राखेको देखिन्छ, साथै भिजेको पनि देखिँदैन । तर, राति पानी परेको भन्ने प्रहरी, पीडित परिवार र आम नागरिकको भनाइ रहेको ।’ गृहको प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘अम्बाको प्लाष्टिक कही कतै नच्यातिएको अवस्थाले गर्दा जबरजस्ती साइकल पल्टाई बालिकालाई लगेको भए बालिकाका कापी मिलाएर राखेको जस्तो र अम्बाको प्लाष्टिक नच्यातिएको अवस्थामा रहन नसक्ने ।’

निर्मलााको शव नजिकै अम्बा भेटिएको कुरा प्रहरीको मुचुल्कामा उल्लेख नभएको र निर्मला पुगेको घरको अम्बाको रुख काटिनुलाई पनि छानविन समितिको प्रतिवेदनमा उल्लेख नगर्दा घटना शंकास्पद भएको मानिएको छ । 

बम दिदीबहिनीमाथि शंका

निर्मला गत वर्षको साउन १० गते साथीको घरमा स्कुलको होमवर्क गर्न भन्दै बम दिदीबहिनीको घर गएकी थिइन् । त्यो घरमा बम दिदीबहिनीमात्रै बस्दै आएका थिए । गृहको छानबिन समितिलाई निर्मलाकी आमा दुर्गादेवी पन्त र छिमेकीहरुले निर्मलाका साथीहरुबारे के बयान दिएकी थिइन् त्यो पनि गृहको छानविन प्रतिवेदनमा रेकर्ड छ । छानविन समितिको प्रतिवेदनको २० औं पृष्ठमा बम दिदीबहिनीको बारेमा उल्लेख गरिएको छ । 

Image result for बम दिदीबहिनी

‘मृतक वालिका निर्मला पन्त साउन १० गते बम दिदीबहिनीको घरबाट हराएको हुँदा निज दिदी बहिनीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्ने पीडित पक्ष र धेरैजसो स्थानीयको माग रहेको तर उनीहरुलाई प्रहरीले केही दिनसम्म दिउँसो जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्ने र बेलुकी घर पठाउने गरेको बुझिन आएको ।’ प्रतिवेदनको २०औँ पृष्ठमा उल्लेख छ । भाग ४ अन्तर्गत निश्कर्ष र सुझावमा बम दिदीबहिनीका हकमा पनि प्रतिवेदनले धेरै ठाउँमा बोलेको छ ।

बम दिदीवहिनीका घरमा रहेको अम्बाको बोट काटिएको विषयलाई प्रतिवेदनले ‘शंकास्पद’ रुपमा अथ्र्याएको छ । गृहको प्रतिवेदनले अझै अगाडि बढेर बम दिदीबहिनीका पिताले ट्युसन सेन्टरमा पुगेर गरेको कुरालाई पनि शंकाको दायरामा राखेको छ । प्रतिवेदनले अम्बाको बोट काटिएकोमा प्रश्न उठाए पनि घरमा नयाँ रंगरोगन गरिएको चाहिँ नपाइएको स्पष्ट पारेको छ ।

‘उल्लेखित घरमा नयाँ रंगरोगन पनि गरिएको भन्ने विषय व्यापक चर्चामा आएको, सोही घरभित्र गई हेर्दा त्यस्तो रंगरोगन गरिएको देखिन आएन ।’ प्रतिवेदनको (पृष्ठ ३१) मा भनिएको छ ।

एक वर्षमा के–के भयो ?

निर्मला बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । यो बीचमा के के भयो ? सबैको विषय बनेको छ । सरकार के गर्दै छ ? कहाँ  पुग्यो निर्मला हत्याको अनुसन्धान ? के सरकार निर्मलाको हत्यारा पत्ता लगाउन असफल नै भएको हो ?  यस्तै यस्तै प्रश्न आम नेपालीको छ । निर्मला हत्या को ३ सय ६५ दिनमा सरकारले के गरे । 

  • २०७५ साउन १० गते : निर्मला पन्तको बलात्कारपछि हत्या
  • २०७५ भदौ ४ गते : मुख्य अभियुक्तका रुपमा दिलीपसिंह विष्ट सार्वजनिक
  • २०७५ भदौ ७ गते : पाँ सदस्यीय समिति गठन । गृहद्वारा ३० भदौमा कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्टसहित पाँच जनालाई निलम्बन
  • २०७५ भदौ ८ गते : आन्दोलनमा प्रहरीको गोली लागि १४ वर्षीय सन्नी खुनाको मृत्यु
  • २०७५ भदौ १० गते : निर्मला पन्त र सन्नी खुनाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय
  • २०७५ भदौ २८ गते : एसपी दिल्लीराज विष्ट, उनका छोरा र भीमदत्त नागरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिव आयुष विष्टको डीएनए परीक्षण
  • २०७५ असोज १ गते : एसपी उत्तम सुवेदीको नेतृत्वमा रहेको समिति विस्तार गरेर डीआईजी धीरु बस्नेतको नेतृत्वमा नयाँ समिति गठन
  • २०७५ भदौ २२ गते : प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बन
  • २०७६ साउन ७ गते : गृहमन्त्री रामबहादुर थापाले सरकारको धारणा राख्दै भने, ‘निर्मला घटनाका प्रकरण योभन्दा अगाडि पनि थिए आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ ।’

गृहमन्त्री थापा ‘बादल’को अभिव्यक्ति

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भए पनि नयाँ र पहिलो घटना नभएको बताए । 

Related image

मन्त्रालयको एक वर्षको कार्यसमीक्षा सुनाउन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्मला घटनाका प्रकरण यसभन्दा अगाडि पनि थिए, आज पनि छन् र भोलि पनि केही समयसम्म रहन्छन् । यस किसिमका अपराधलाई हामीले पूर्णतः निषेध गर्न सक्दैनौं ।’

उनले निर्मला पन्त प्रकरणलाई राजनीतीकरण गरिनु दुःखद भएको जनाउँदै भने, ‘हिजोको सरकारले पनि आफ्ना पालामा भएका कैयन् केसलाई कानुनी कठघरामा ल्याउन सकेनन् ।’ उनले १३ वर्षपछिसमेत प्रहरीले फरार अपराधी समातेको उदाहरण दिँदै विकसित देशमा पनि शतप्रतिशत अपराधी कानुनी कठघरामा नआउने बताए । 

गृहमन्त्री थापाले प्रहरीले अनुसन्धान निष्कर्षमा पुर्याउन नसकेको तथ्य बचाउ गर्दै प्रविधिले सम्पन्न अमेरिकामा पनि केही घटनाको अनुसन्धान निष्कर्षमा पुग्न नसकेको बताए । 

उनको यो निष्कर्षले कतिको सहित छ अहिले चौतर्फि चर्चाको विषय बनेको छ । गृहमन्त्रीको यो  प्रतिक्रियाले कतै सरकार नै अपराधी जोगाउने तर्फ लिप्त भएको त होइनन् ? भन्ने प्रश्न समेत उठेको छ । 

निर्मलाका आमा–बुबालाई भेट्दा प्रधानमन्त्री ओलीले के भने ?

असोज १ गते निर्मलाकी आमा दुर्गा देवी पन्त र बुबा यज्ञराज पन्तलाई भेटेर प्रधानमन्त्री केपी शर्माले बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भएपनि कडा कारबाही गरिने विश्वास दिएका थिए । ‘धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भएपनि दोषी उम्कन नसक्ने बताएका थिए ।  

के हुँदै छ अनुसन्धान ?

निर्मला प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रधान कार्यालयल अहिले पनि अनुगममै छ । अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अतिरिक्त केन्द्रीय अनुसन्धान ब्युरोका एक इन्स्पेक्टरसहितको टोली स्थलगत अनुसन्धानमै छ ।

निर्मला प्रकरणबारे प्रहरीले निरन्तर अनुसन्धान जारी राखेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोख्रेलले बताए । उनका अनुसार प्रहरी प्रधान कार्यालयबाट पनि अनुसन्धान जारी छ ।

त्यसो त यसअघि कार्य तथा अपराध अनुसन्धान विभाग, महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि फरकफरक टोली खटिएका थिए । सुरुदेखि नै जेलिएको अनुसन्धान भएकाले गाँठो फुकाउन त्यति सजिलो नभएको स्थलगत अनुसन्धानमा खटिएका एक डीएसपीले बताए । 

त्यसो त घटनालगत्तै राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा, डीएनए विज्ञसहितको टोली गठन गरेको थियो । यसले घटनाबारे प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो । 

प्रहरीको विधि विज्ञान प्रयोगशालाले निर्मलाको ‘भजाइनल स्वाब’ बाट संकलित नमुनाबाट वंश पहिचान गर्ने ‘वाई एसटीआर’ को मात्रै डीएनए निकालेको थियो । जब कि व्यक्तिको पहिचान गर्न व्यक्ति पहिचान गर्ने ‘अटोजोमल एसटीआर’ निकाल्नुपर्छ । त्यसैले डीएनएको परीक्षणबाट मात्रै घटनामा संलग्न व्यक्ति पहिचान सम्भव नहुने आयोगको निष्कर्ष छ ।

भजाइनल स्वाबको नमुना नै सकिइसकेको अवस्थामा अब प्रहरीले डीएनए जाँचबाट अभियुक्तको पहिचान गर्न सक्ने सम्भावना अत्यन्त न्यून देखिन्छ । 

आन्दोलनमा घाइते भएकाहरुको अवस्थाबारे सरकार बेखवर 

निर्मलाको लागि न्याय माग्दा गत भदौ ७ मा प्रहरीको गोली लागेर घाइते भएका भीमदत्त ४ महेन्द्रनगर बजारका २० वर्षीय अजुर्न भण्डारी अझै शिक्षण अस्पतालमै छन् । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अर्जुन बायाँ खुट्टा काटिएको छ भने उनको स्वास्थ्यमा अझै सुधार आएको छैन । 

तर, सरकारले औषधि उपचारको लागि दिँदै आएको रकम  समेत दिन छाडेको छ । वैशाखबाट सरकारले औषधी उपचारको रकम नपठाएको छोराको उपचारमा आर्थिक समस्या भएको उनकी आमा शिवकला भण्डारीले बताइन् । 

निर्मलाका लागि न्याय माग्दै आन्दोलन गर्दा एकजना बालकले ज्यान गुमाए । भीमदत्त–१८ सालघारीका १३ वर्षीय सन्नी खुनाको मृत्यु भयो । सन्नी खुनालाई सरकारले सहिद घोषणा गरेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले उनको परिवारलाई जम्मा १८ लाख राहत पनि दिएको छ । सन्नीकी आमा सानैमा बितेपछि उनका बाबुले दोस्रो विवाह गरेका थिए । सन्नीका सौतेनी आमालाई नगरपालिकाले कार्यालय सहयोगीको जागिर पनि दिएको छ । 

त्यस्तै भीमदत्त नगर–२ भाँसीका १७ वर्षीय उमेश देउवा र भीमदत्त नगर–१८ जानकी टोलका १५ वर्षीय चेतन भट्टको पढाइ प्रभावित भएको छ । देउवा घटाल माविमा कक्षा ९ र भट्ट भृकुटी माविमा कक्षा ८ मा अध्ययनरत छन् । घाइते भएदेखि उनीहरू दुवैजना विद्यालय जाँदैनन् ।

तीन महिना अस्पताल बसेर घर आएका देउवाले अर्धवार्षिक परीक्षा दिन सकेनन् भने भट्टले विद्यालय नगए पनि परीक्षा दिएका छन् । देउवाको बायाँ खुट्टामा गोली लागेको थियो । रड हालेर अप्रेसन गरिएको छ । ‘यसको पढाइ मात्र होइन, जिन्दगी नै बर्बाद भयो,’ उमेशका बुबा यज्ञराज भन्छन् । 

उपचारका लागि सरकारले दिएको २ लाख ५० हजार सकिएको बताउँदै उमेशका बुबा यज्ञराज भन्छन्, ‘आउँदो १ पुसमा फेरि अस्पतालमा बोलाएको छ । अस्पतालमा उपचार गर्ने खर्च छैन । सरकारले पूरै उपचार खर्च दिनुपर्यो ।’ 

८ भदौमा आफ्नै मृत्युको खबर पाएका चेतन भट्टको हातमा अझै गोलीका छर्रा छन् । बायाँ हातमा गोली लागेको थियो । उपचारका लागि सरकारले एक लाख २० हजार रुपैयाँ दिएको उनकी आमा पुनमले बताइन् । 

भीमदत्त–२ भाँसीकै ४१ वर्षीय तेजराज भट्टको टाउकोमा गोलीका छर्रा वारपार भयो । उनले भारतको महाजन मेमोरियल अस्पतालमा उपचार गराए । सरकारले दिएको ४० हजार र आफ्नो डेढ लाख खर्च भइसकेको बताउँदै उनले डेढ वर्ष औषधि खानुपर्ने बताए । 

भीमदत्त–१८ भगतपुरका ४३ वर्षीय सुरेश चटौतको टाउकोमा चोट लागेको थियो । उनले पनि भारतको राममूर्ति अस्पतालमा उपचार गरे । एक लाख पाँच हजार खर्च भए पनि सरकारले ९२ हजार मात्रै खर्च दिएको उनको दुखेसो छ । 

यस्तै भीमदत्त–१८ निम्बुखेडाकी ३२ वर्षीया मञ्जु गिरी र भीमदत्त–१८ कटानका ३४ वर्षीय सुरेन्द्र देउवा पनि अझै उपचार गराइरहेका छन् । देउवाको हातमा रड राखिएको थियो । अप्रेसन बिग्रेपछि उनी दोहो-याएर त्रिवि शिक्षण अस्पताल गएका थिए । 

के भन्छिन् निर्मलाका आमा ?

निर्मलाको हत्यार पत्ता लाग्ने आश मरेको निर्मलाकी आमा दुर्गा देवी पन्त बताउछिन् । ‘छोरीको हत्या भएको आज १ वर्ष भयो । सरकारले दोषी पत्ता लगाउन सकेको छैन । अब न्यायको आश छैन ।’ दुर्गावेदीले भनिन् ।   

उनले थप्दै भनिन्, ‘मेरो छोरीले त न्याय पाइन्, आन्दोलनमा घाइते भएकाहरुको उपचारमा समेत सरकारले वेवास्ता गरेको छ।’

भीमदत्त नगरपालिकाका मेयरले निर्मलाकी आमालाई एक महिनाअघि नगरपालिकामा जागिर दिए । अहिले उनी नगरपालिकको महिला तथा बालबालिका शाखाकी कर्मचारी हुन् । 

निर्मला हत्या प्रकरणबारे मैनाली समितिको छानविन प्रतिवेदन :-

आयोगको प्रतिवेदनको सारांश :-

 

 

 

 

प्रतिक्रिया दिनुहोस्