‘यात्रा’ को  पोस्टर सार्वजनिक



काठमाडौं : चैत २९ गतेदेखि प्रदर्शनमा आउने घोषणा भएका फिल्म ‘यात्रा’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले फिल्म ‘यात्रा’का तीन अफिसियल पोस्टर सार्वजनिक गरेको हो । यस फिल्ममार्फत सम्राट शाक्यले डेब्यु निर्देशन गरेका छन् । यस  फिल्मको पोस्टर निकै आकर्षक बनाइएको छ । पोस्टर टौवा क्रिएसनले तयार पारेको हो ।

 

दुई पोस्टरमा नवनायिका मल्लिका महत र नायक सलिनमान बानियाँलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।  तेस्रो पोस्टरमा अभिनेता सलोन बस्नेतसहित फिल्मका अन्य कलाकारहरु रहेका छन् । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ रिलिजको एक वर्ष पछि सलिनमान पर्दामा देखिन लागेका हुन् ।

 

यस फिल्ममा जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्ममा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् । केही दिनमा यस फिल्मको पहिलो गीत निर्माण टिमले सार्वजनिक गर्नेछ ।

 

यस फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ । यस फिल्ममा यात्राले हुने परिस्थितिलाई देखाइएको छ । यस फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका छन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । यस फिल्मको सह–निर्माताहरुमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे रहेका छन् ।

 

फिल्ममा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्