निर्देशकले घोटाला गरेको निर्मात्रीको आरोप



काठमाडौं : फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमलीला’ यतिबेला विभिन्न कारणले चर्चामा रहेको छ । फिल्मका लागि अभिनेत्री दीपशिखा खड्काले पाँचपटक कपाल मुण्डन गराएकी थिइन् । उनको यस फिल्ममा प्रमुख भूमिकामा रहेको छ । फिल्म चर्चामा रहनुको अर्को कारण हो फिल्म निर्देशकले निर्मात्रीसँग गरेको घोटाला ।

 

दीपशिखा यस फिल्मकी निर्मात्रीसमेत हुन । यो फिल्मको आधा भागको निर्देशन जनक पाण्डेले गरेका हुन् । बाँकी दीपशिखा स्वयंले गरेकी छन् । आखिर किन छाडे निर्देशक पाण्डेले फिल्म र निर्मात्री खड्काले नै किन सम्हालिन् त निर्देशनको जिम्मेवारी, यस विषयमा दीपशिखाले आफ्नो कुरा राखेकी छन् ।

 

दीपशिखाले यस फिल्मको ट्रेलर रिलिजमा निर्देशकलाई लात हानेर निकालेको बताउएकी छन् । उनले त्यही दिन साँझ फेसबुकमा लामो स्टाटस लेख्दै निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी छन् । फिल्ममा पाण्डेले पनि लगानी गर्ने सर्त भएको तर छायांकनको क्रममा उल्टै आफूबाट पैसा लिएर भागेको उनले बताइन् ।

 

उनले लेखेकी छन्, ‘मैले बारबार फोन सम्पर्क गरेँ, फेसबुकमा म्यासेज गरेँ तर पनि कुनै जवाफ आएन । त्यसपछि रिसले गाली गरेर म्यासेज गरेँ, पुलिस केस गर्ने धम्की दिएँ तर पनि केही सीप लागेन ।’

 

फिल्मको छायांकन पैसा अभावका कारण रोकिने भएपछि दिदी (नानीमैयाँ कार्की) ले आफूलाई १५ लाख दिएको उनले स्टाटसमा भनेकी छन् । ‘दिदीले दिनुभएको पैसाले पनि पुगेन र मैले आफूसँग भएको सुन र गाडी बेचेर सुटिङ सकेँ’, उनले अगाडि लेखेकी छन् । उनी भन्छिन्, ‘जसोतसो फिल्मलाई पूर्ण रुप दिएँ । तर अझै २०-२२ लाखको खर्च छ ।’

प्रतिक्रिया दिनुहोस्