पूर्वमन्त्री सञ्जय साह परिवारका सबै सदस्यलाई जेल सजाय



जनकपुरधाम : पूर्वराज्यमन्त्री सञ्जय कुमार साह ‘टकला’ उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई जेल सजाय भएको छ ।

विशेष अदालतले गरेको फैसलामा उनलाई ५ वर्ष कैद, उनकी पत्नी रंगीला देवी साहलाई अढाई वर्ष, पिता साधुशरण साह सुडीलाई अढाई वर्ष र भाई रामकुमार साहलाई डेढ वर्ष कैद सजाय सुनाइएको छ ।

त्यसै गरी उनका तत्कालीन सहयोगीहरु छेदी राउत र सुजीत पाण्डेलाई अढाई-अढाई वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले हाल सम्म गरेको फैसलामा राजनीतिकर्मी एकै परिवारका दाजुभाई, पिता, पत्नीलाई अकुत सम्पत्ति राखेको अभियोगमा जेल सजाय गरेको हो ।
सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दाको फैसलामा परिवारलाई १९ करोड बिगो र उत्तिकै जरिवानाको फैसला भएको छ । सम्पत्ति शुद्धिकरण विभागले ३२ करोडको विगो र उतिकै जरिवानाको माग गरेको थियो । उनीबिरुद्ध सम्पत्ती शुद्धिकरण विभागले २०७४ साल चैत १६ गते मुद्दा दायर गरेको थियो ।

२०७३ साल पुस २५ गते अख्तियारले भ्रष्टाचारसबन्धी मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायधीशहरु कृष्ण गिरि, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले साह, उनका पिता, पत्नी, भाई र तत्कालिन सहयोगीहरुलाई कैद र जरिवानाको सजाय सुनाएको छ ।
यस अघि फागुन १५ गते विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै ४ वर्ष कैद सजायको फैसला गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा साहलाई भ्रष्टाचारी ठहर गर्दै साढे १९ करोड बिगो र उत्तिकै जरिवाना गरि करिब ३८ करोडको बिगो जफत हुने फैसला अदालतले गरेको थियो ।

अख्तियारले साढे ३१ करोड र सम्पत्ती शुद्धिकरणले ३२ करोड सम्पत्तीको स्रोत नखुलेको दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई सजाय भएको थिएन । सम्पत्ति शुद्धिकरणको मुद्दा बाहेकमा साह बाहेकका सदस्यहरुलाई सजाय भएको थिएन । अख्तियारले उनकी आमा दुलारी देवी सुडी, पिता साधु साह सुडी, पत्नी रंगीला देवी, भाई रामकुमार साह समेतमाथि मुद्दा गरेको थियो । तर त्यसमा साह बाहेक अन्यलाई सजाय भएको थिएन । उनी उनका पिता साधु साह सुडी, पत्नी रंगीला देवी र भाई रामकुमार उनको नाममा रहेका सम्पूर्ण सम्पत्ति रोक्का रहेको छ ।

विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिन जरिवाना भएको बराबरको धितो राखेर मात्र जान पाउने प्रावधान रहेको कानुन व्यवसायीहरुको भनाई छ । सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या र रामानन्द चोक बम काण्ड मुद्दामा धनुषा जिल्ला अदालतबाट साहलाई जन्मकैदको सजाय भएको छ ।

काठमाडौं जेलमा रहेका उनका लागि फागुन महिनामा १५ दिन भित्र आएको विशेष अदालतको २ वटा फैसलाले थप जेल सजाय भएको छ । धनुषा जिल्लाको तत्कालिन निर्वाचन क्षेत्र ४ बाट उनी दुवै संविधान सभामा निर्वाचित भएका थिए ।

पहिलो संविधान सभा चुनावमा उनले तत्कालिन नेकपा एमालेका नेता रघुबीर महासेठ र दोस्रो संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामसरोज यादवलाई पराजित गरेका थिए । तत्कालिन नेकपा एमालेका नेता माधवकुमार नेपालको सरकारमा उनी लोकतान्त्रिक फोरमबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएका थिए ।

लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार मन्त्री थिए । एकताका जनकपुरधाममा संजय साहकै चल्थ्यो । कुन हाकिम जनकपुरधाममा रहनेसम्म पनि निर्णय उनले नै गर्ने गर्थे । देशमा सरकार जो कोहीको भएपनि जनकपुरधामका सरकार उनी नै थिए । प्रहरीको अधिकारीहरु पनि कुनै कार्य गर्दा उनको निर्णयसंग खुशी छन वा दूखी यतिसम्म ख्याल गर्ने गर्थे । उनको ईच्छाविपरित कार्य गर्दा केही वर्ष पहिले धनुषाका एक प्रहरी उपरीक्षकलाई रेल्वे स्टेशन प्रहरी चौकीमा कुटाई मात्रै भएन २४ घण्टा भित्रै सरुवा गरिएको थियो । एसपीलाई प्रहरी चौकीमै कुटियो र कुटनेलाई केही भएन ।

आज उनी दयाका पात्र बनेका छन् । वर्षौदेखि जेलमा छन् छुटने आशा कतैवाट छैन फेरी दोषीमाथि दोषी बनि नै रहेका छन् । कबारीको कारोबारबाट ठेक्केदार बनेका उनी करोडौँ रुपैयाँका मालिक बनेका थिए । शुरुका दिनमा सानो तिनो विवादमा पैसा लिएर एकको पक्षमा कार्य गर्दै आएका उनको जनकपुरधाम क्षेत्रमा आतंक नै थियो ।

उनलाई जिल्ला विकास समितिका महत्वपूर्ण ठेक्काहरु दिलाउन रामचरित्रले भूमिका खेलेका थिए । पैसा र गुण्डागर्दीकै प्रभावमा जनकपुरधाममा २ पटक उनी सांसद भए । उनी केही दिनका लागि भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत भए । जनकपुरधाममा कुनै ठूलो कार्य हुँदा संजयको आदेश बिना हुँदैनथ्यो । ठेक्काहरुमा पनि उनकै चल्थ्यो । पारिवारिक विवादहरु पनि उनले मिलाउथे । केही व्यक्तिका लागि उनी अवतरित नै थिए ।

प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति मतको हुन्छ । उनले पैसा कमाएपछि त्यतैतर्फ भाग अजमाउने प्रयास गरे । मधेश आन्दोलनमा उनको खासै योगदान थिएन । प्रभावशाली नेता जेपी गुप्ताको चाहनामा उनकै दबाबमा उनी सो पार्टीको टिकट पाएका थिए । वि.सं. २०६४ साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं.४ बाट पहिलो पटक उनी निर्वाचित भए । ठेक्कापट्टाबाट मनग्गे कमाएको पैसाकै कारण टिकट किनेर संविधानसभा निर्वाचन टिकट लिएको निकै चर्चा थियो ।

मधेसी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा उनले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भए । उक्त निर्वाचनमा नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए । कांग्रेसबाट प्रभावशाली नेतृ लीला कोइराला चुनाब लडेकी थिइन् । उनलाई पनि पराजित हुनु परेको थियो ।

२०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय कुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भए । तत्कालिन सदभावना पार्टीबाट टिकट पाएका उनले नेपाली कांग्रेसका प्रभावशाली नेता रामसरोज यादवलाई पराजित गर्दै उनले जनकपुर क्षेत्रमा लगातार दुई पटक निर्वाचन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्