मिथिला नगरपालिकाले मापदण्ड अनुसार बालुवा गिट्टी उत्खनन गर्नेे



जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाले मापदण्ड अनुसार बालुवा गिट्टी उत्खनन गर्ने निर्णय गरेको छ ।

गत पुस २४ गते औरही खोलामा क्रसर सञ्चालकहरु मिलेर नै स्थानिय २४ वर्षिय दीलीप महतोको हत्या गरेपछि स्थगित रहेको उत्खनन कार्य दुई महिनापछि फेरी सुरु गर्नका लागि सो नगरपालिकाले मापदण्ड निर्धारण गरेको छ ।

आइईई रिपोर्ट तथा नगरपालिकाले तोकेको मापदण्ड अनुसार नै अब बालुवा तथा गिट्टी उत्खनन गरिने मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।

नगरपालिकाले बालुवा गिट्टी उत्खननका लागि विभिन्न ६ वटा मापदण्ड निर्धारण गरेको उनले बताए । जस अनुसार आइईईमा तोकिएको स्थान तथा मापदण्ड अनुसार उत्खनन गर्ने, सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै उत्खनन् गर्ने, उत्खनन् गर्ने स्थलमा फ्लेक्स बोर्ड तथा नागरिक वडा पत्र राख्नुपर्ने, तोकिएको नम्बरको गाडीहरुबाट मात्रै बालुवा गिट्टी उत्खनन गर्न पाइने, उत्खननको समयमा नगरपालिकाको प्रतिनिधि राखिने र मापदण्ड पूरा नगरी उत्खनन गर्नेलाई कानून अनुसार कारबाही गर्ने लगायतको मापदण्ड निर्धारण गरिएको नगर प्रमुख महतोले बताए ।
नगरपालिकाले बालुवा गिट्टी उत्खनन गर्ने गाडीको नम्बर समेत सार्वजनिक गरेको छ । बा २ ख ३६७९ नम्बरको स्काइभेटर तथा बा ३ क २७२२, बा २ क ६३१७, बा २ क ४८०४ र ज १ क ६८४ नम्बरको जेसिबीलाई उत्खननको लागि अनुमति दिइएको हो ।

आइईई रिपोर्टका अनुसार मिथिला नगरपालिकामा रातु नदीमा १२०४५४ क्यु. वि. फिट, जलाद नदीमा १२७९४७८, औरही नदीमा १४९४८८४, जग्धर नदीमा ६६२६६४, बसही नदीमा १३४७३७४ र बडहरी खोलामा १००४२५२ क्यु.वि. फिट बालुवा उत्खनन गर्न पाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्