महिला गोल्डकपको उपाधि कनकाईलाई



झापा : अर्जुनधारा-९ मा सम्पन्न प्रदेश नं.१ स्तरीय सुखानी शहीद स्मृति महिला गोल्डकपको उपाधि कनकाई नगर खेलकूद विकास समिति झापाले हात पारेको छ ।

सुखानी शहीद स्मृति प्रतिष्ठान झापाको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा आज कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई २-१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि हात पारेको हो ।

प्रतियोगिताको विजेता कनकाईले नगद १ लाख २५ हजार प्राप्त गरेको छ भने उपविजेता ताप्लेजुङले ७५ हजार पाएको छ । कनकाईको जीतका लागि खेलको २८ औँ मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९ औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । ताप्लेजुङकी पवित्रा लिम्बूले खेलको ६९औँ मिनेटमा सान्त्वना गोल फर्काएकी थिइन् ।

प्रतियोगिताको ‘वुमन अफ दी टुर्नामेन्ट’ कनकाईकी कुसुम खतिवडाले १२ हजार, फाइनल खेलको ‘वुमन अफ दी म्याच’ कनकाईकी नेहा चौधरीले ५ हजार र ‘बेस्ट कोच’ कनकाईका सन्त रायमाझीले ५ हजार प्राप्त गरेका छन् ।

त्यस्तै ‘बेस्ट फरवार्ड’ कनकाईकी लक्ष्मी श्रेष्ठ, ‘बेस्ट मिडफिल्डर’ ताप्लेजुङकी सुनकला राई, ‘बेस्ट डिफेन्स’ कनकाईकी सुस्मिता चौधरी र ‘बेस्ट गोल किपर’ कनकाईकी जशोदा लावतीलाई जनही रु सात हजार र प्रतियोगिताको ‘फेयर प्ले’ पारिजात महिला फुटबल क्लब झापालाई नगद १० हजारसहित ट्रफी प्रदान गरियो ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकासमन्त्री जसमाया गजमेर, प्रदेश सभासदस्य अर्जुन राई, बृख प्रधान र हिरा थापालगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले खेल क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताए । खेलकूद विकासको सूचकसमेत रहेकाले यस क्षेत्रको विकासमा सबै जुट्नपर्ने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्