बालुवाटारमै मन्त्रिपरिषद बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दोस्रा मृगौला प्रत्यारोपणपछि अहिले पुरानै लयमा फर्किने प्रयासमा छन् । १९ फागुनमा मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका ओली गत शुक्रबार प्रधानमन्त्री निवासमा फर्किसकेका छन् ।

शुक्रबार अस्पतालबाट डिस्चार्ज भएकापछि आराम गर्नुपर्ने चिकित्सकको सल्लाह उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले शनिबारदेखि राजनीतिक भेटघाट शुरु गरेका छन् । शीर्ष नेता, मन्त्री, सचिवालय सदस्यहरुसँग उनले शनिबार भेटघाट गरे ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले आवश्यकता अनुसार भेटघाट भइरहेको बताए । एक महिनासम्म संक्रमणको उच्च जोखिम हुने भएकाले पहिले जस्तै प्रधानमन्त्रीले भेटघाट नगरी आवश्यता अनुसार भइरहेको बताए ।

‘पहिले जस्तै भेटघाट भइरहेको छैन, आवश्यता अनुसार भइरहेको छ’ रिमालले भने–‘एक महिनासम्म संक्रमणको उच्च जोखिम हुने भएकाले चिकित्सकको सल्लाह अनुसार नै उहाँले नियमित काममा फर्किनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले यसबीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल, सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल लगायतसँग भेटघाट गरेका छन् ।

भेटघाटमा नेताहरुले प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पछिल्लो राजनीतिक अवस्थाको बारेमा जानकारी गराएका छन् । ओलीले चासो दिएर नेताहरुको कुरा सुन्ने र आफ्नो कुरा सुनाउने गरेका छन् । चिकित्सकले अहिले आराम गर्न सुझाव दिए पनि ओली पहिले जस्तै काममा फर्किन खोजेका छन् ।

ओली मृगौला प्रत्यारोपण गराउन अस्पताल भर्ना भएपछि केही महत्वपूर्ण काम अडकिएको छ । जसलाई ओलीले जसरी पनि समयमै सकिन खोजेका छन् । गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषदबाट समिति गठन र समितिको सिफारिस अनुसार प्रक्रिया अगाडी बढनुपर्नेछ ।

गभर्नर चिरञ्जीवी नेपालको पदावधि ६ फागुनमा सकिँदैछ । त्यसअघि मन्त्रिपरिषद बैठक बसेर नयाँ गभर्नर नियुक्तीका लागि समिति गठन गर्ने र सो समितिले तीन जनाका नाम सिफारिस गरेपछि त्यसमध्ये एक जनालाई गभर्नर नियुक्ति गर्न दोस्रो पटक मन्त्रिपरिषद बैठक बोलाउनुपर्ने हुन्छ ।

यस्तै नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णय कार्यान्वयन गर्ने, पार्टी एकताको बाँकी काम टुंगो लाउने लगायतका काम रहेका छन् । यद्यपी गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषयमा पार्टीभित्रै विवाद रहेको र त्यसलाई समाधान गर्नुपर्ने प्रमुख दायित्व समेत ओली कै रहेको छ ।

ओली सचिवालयका अनुसार मन्त्रिपरिषद बैठक बोलाउने तयारी प्रधानमन्त्रीले गरेका छन् । सरकारी निवास बालुवाटरमै बैठक बोलाउने तयारीमा उनी रहेका छन् । मन्त्रिपरिषद बैठक पहिला जस्तै लामो नहुने तथा महत्वपूर्ण काम मात्रै हुने बताइएको छ ।

चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री ओली नियमित कसरत बालुवाटार निवासमै गरिरहेका छन् । मृगौला प्रत्यारोपण गरेका बिरामीलाई एक महिनासम्म चलाइने औषधिले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले प्रधानमन्त्री ओली बालुवाटारमै निजी चिकित्सकद्वय डा. दिव्या सिंह शाह र डा. दिलीप शर्माको नियमित निगरानीमा रहेका छन् ।

चिकित्सककै निगरानीबीच उनले नियमित दैनिकीमा फर्किने प्रयास थालेका छन् । तर, चिकित्सकले प्रधानमन्त्री ओलीलाई एक महिनासम्म अन्य व्यक्तिहरूसँगको सम्पर्कमा नजान तथा कम्तीमा पनि तीन महिनासम्म भिडभाडबाट टाढै रहेर आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्