सार्क भिडियो कन्फेरेन्समा ओलीले भने, कोरोना भित्रिन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ छ



काठमाडौं : सार्क देशहरुबीचको भिडियो कन्फेरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भित्रिन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ रहेको जानकारी दिएका छन् ।

आइतबार कोरोना भाइरस (कोभिड १९) बिरुद्ध सहकार्य गर्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरुबीच भएको भिडियो कन्फरेन्समा नेपालको तर्फबाट सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा संक्रमण नरहेको र भाइरस भित्रिन नदिन सरकारी निकाय सचेत रहेको जानकारी दिएका हुन् ।

उनले कन्फेरेन्समा बोल्दै ‘अन अराइभल भिसा’ रद्द गरेको जानकारी गराएका छन् । उनले कुनै पनि विदेशी यात्रुलाई नेपाल प्रवेशका लागि भिसा नदिइने समेत जानकारी गराए ।

यसैगरी, प्रधानमन्त्री ओेलीले पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने, गैरआवासीय नेपालीका हकमा पनि सोही व्यवस्था लागू हुने जानकारी दिएका छन् ।

यस्तै उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए ।

उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्याप्त सावधानी अपनाएको भन्दै सीमा नाकाबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश प्रतिवन्ध लगाइएको पनि जानकारी गराए ।

स्वास्थ्यका कर्मचारीलाई सुरक्षित उपकरणको व्यवस्था गरिनुका साथै विमानस्थलमा स्कृनिङका साथै अन्य स्वास्थ्य परीक्षणको व्यवस्था गरेरमात्रै भित्रन दिने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए । उनले यसवर्षको आरोहण रद्द गरिएको पनि बताए ।

सो क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबै सार्क मुलुकलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्