कतै तीव्र तयारी, कतै स्थगित गर्ने निर्णय



काठमाडौं : विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको प्रभाव काठमाडौं उपत्यकाको जात्रामा देखिएको छ ।त्यसोत विभिन्न जात्रा चलिरहने भएकाले उपत्यकालाई ‘जात्रैजात्राको शहर’ को उपमा पनि पाएको छ । खासगरी हरेक वर्षको समाप्तिदेखि नयाँ वर्षको पहिलो सातासम्म काठमाडौं, भक्तपुर र ललितपुर जात्रामय बन्छ ।

भक्तपुर नगरको सांस्कृतिक र ऐतिहासिक महत्वको प्रमुख आकर्षण हो– बिस्केट जात्रा । २७ चैतदेखि शुरु भएर आठ रात नौ दिनसम्म यो जात्रा मनाइन्छ । तौमडीस्थित न्यातपोल मन्दिर अगाडिबाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुने जात्रा ५ वैशाखमा गहिटी पुर्याएपछि समापन हुन्छ ।

त्यस्तै, मध्यपुर थिमी नगरपालिकाको बोडेमा २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । १० इन्च लामो सुइरोले जिब्रो छेडेर चन्द्राकारको मसाल जस्तो ‘भ्वाय्’ (महाद्वीप) बोकेर टोलटोल घुमाउने यो जात्राको निरन्तरताले स्थानीयलाई शुभ हुने विश्वास गरिन्छ ।

थिमीमा त्यसै दिन बिहान सिन्दूर जात्रा मनाइन्छ । बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली मन्दिरका देवताका खट बोकेर टोलटोलमा सिन्दूर खेल्दै यो जात्रा मनाउने परम्परा छ ।

त्यसोत चैत महिना उपत्यका जात्राको महिना हो । तर, यसवर्ष कोरोनाभाइरसका कारण उपत्यकामा मनाइने जात्राहरु प्रभावित भएको छ ।

सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गर्दै आएको छ । यसैले गर्दा यी पर्वहरु पनि प्रभावित भएका छन् ।

सरकारले नागरिकलाई अनावश्यक जमघट नगर्न तथा भीडभाड हुने कार्यक्रम नगर्नसमेत आग्रह गरेको छ । तर, सरकारको आग्रहलाई वेवास्ता गर्दै कतिपय स्थानमा भने जात्राको तयारी तीव्र छ ।

ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनले पाटनका परम्पराका नेवार बस्ती रहेका ४० टोलको बैठकले जात्रापर्व जस्ता भीडभाडमा सहभागी नहुने र मानिसको भीड हुने भोज भतेर पनि हाल स्थगित गर्ने निर्णय गरेको बताए । असन चोकमा हुने भद्रकाली कङ्केश्वरी लुचुभुलु अजिमा लगायतका देवताको खट जुधाउने जात्रालाई के–कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भएको बताइएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशी जात्रापर्वलाई हाल साङ्केतिक रूपमा सञ्चालन गर्नुपर्ने बताए ।
उनले चलिआएको परम्परा यस्तो बेला रोक्न हुन्न भनेर कतै नलेखिएको बताउँदै संस्कृतिविद् जोशीले जात्रामा भीडभाड हुँदा महामारी फैलिन सक्ने भएकाले सतर्क हुनुपर्ने बताए ।

यता संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग भने पर्व रोक्न नहुने बताउँदै–‘चैतमा रुखमा मुना पलाउँछ पछि पलाओस् भनेर जसरी भन्न सकिन्न त्यसरी नै पर्वजात्रा पछि चलोस् भनेर रोक्न नहुने हो ।’
अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले भने चैतको शुरु सातामै हुने बज्रेश्वरी र बच्छलेश्वरी जात्रामा भीडभाड कम नहुने र जात्रा राम्रैसँग सञ्चालन हुने उनले बताए ।

साँखुको बज्रयोगिनी, मातातीर्थको महालक्ष्मी, हाँडीगाउँको गहना खोज्ने, ठिमीको जिब्रो छेडाउने, भक्तपुरको भैरवनाथ र नगदेशको महालक्ष्मी जात्रा लगायत कीर्तिपुर पाँगा, ठैव, ठेचो, हरिसिद्धि जात्रा र बालाजु बाइसधारा स्नान, सपनतीर्थ मेला लगायत उपत्यकामा दर्जनौँ जात्रा वैशाखको अन्त्यसम्म परेका छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीले यो जात्रापर्वलाई यो साल साङ्केतिक रूपमा मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्