गोविन्दाको भतिजा निर्देशक जन्मेन्द्र आहुजा मृत भेटिए



एजेन्सी : बलिउड अभिनेता गोविन्दाका भतिजा जन्मेन्द्र आहुजाको मृत्यु भएको छ । ३४ वर्षीय जन्मेन्द्र मुम्बईको यारी रोड एक्सटेन्सनमा एक अपार्टमेन्टमा बस्थे । जन्मेन्द्रको मृत्यु रहस्यमय स्थितिमा भएको भन्दै पुलिसले शव पोस्टमार्टमका लागि पठाएको थियो ।

 

जन्मेन्द्रका दाइ नाता पर्ने कृष्णा अभिषेककी श्रीमती कश्मिरा शाहले एक वेबसाइटसँगको कुराकानीमा जन्मेन्द्रको मृत्यु प्राकृतिक भएको बताएकी छन् ।

 

केही मिडियाले जन्मेन्द्रको हृदयाघातका कारण मृत्यु भएको जनाएका छन् । उनको मुम्बईको पवन हंस अडेटोरियममा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा गोविन्दा, कृष्णा अभिषेक, विनय आनन्दसहित परिवारका अन्य सदस्य सहभागी भएका थिए ।

 

जन्मेन्द्र गोविन्दाका दाइ निर्माता, निर्देशक कीर्ति कुमारका छोरा हुन् । कीर्ति कुमारले आफ्नो घरमा काम गर्ने महेन्द्र र लालीका छोरा जन्मेन्द्रलाई कानुनी रुपमा धर्मपुत्र बनाएका थिए ।

 

जन्मेन्द्र व्यावसायिक रुपमा निर्देशक थिए । उनले ‘प्यार दिवाना होता है’ मा सहनिर्देशकको रुपमा काम गरेका थिए । उनलाई मायाले डम्पी आहुजा भनिन्थ्यो । उनको फेसबुक अकाउन्टमा पनि यही नाम रहेको छ ।

 

उनलाई सन् २००६ मा महिलामाथि उत्पीडनको आरोप लागेको थियो । सन् २००६ मा जन्मेन्द्र र उनका चार साथीहरुविरुद्ध एक महिलामाथि दुर्व्यवहार र उनका श्रीमानलाई कुटपिटको आरोप लागेको थियो । त्यो बेला मुम्बई पुलिसले जन्मेन्द्रविरुद्ध मुद्दासमेत दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्