वार्षिक परीक्षामा पुरानै प्रश्नपत्रको प्रयोग



रौतहट : रौतहट जिल्लाको फतुआ विजयपुर नगरपालिकाअन्तर्गत सञ्चालन भइरहेको वार्षिक परीक्षमा पुरानै प्रश्नपत्र प्रयोग भइरहेको तथ्य फेला परेको छ । नगरक्षेत्र अन्तर्गतको सबै विद्यालयमा पुरानै प्रश्नपत्र प्रयोगगरि कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन गरिएको छ ।

नगरपालिका अन्तर्गतको ३२ वटा विद्यालयमा गत वर्षको प्रश्नपत्रको आधारमा परीक्षा भएको अभिभावक परमेश्वर यादवले बताएका छन् । नगर शिक्षा संयोजक बुनिलाल यादवले गैरजिम्मेवार पूर्णपरिकाले हजारौं विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको अभिभावक यादवले गुनासो गरेका छन् । परीक्षा सञ्चालनको निमित्त नगरपालिकाबाट प्राप्त रकम खर्च नगरी अनियमितता गर्ने मन्सायले पुरानै प्रश्नपत्र प्रयोग भइरहेको अभिभावकहरुको आरोप छ ।

नगर परीक्षा सञ्चालनको लागि प्रश्नपत्र छपाइ लगायत सम्पूर्ण खर्च नगरपालिकाले दिनेगरेको भएपनी शिक्षा संयोजक बुनिलाला यादव नगरप्रमुखको नजिकको मानिस रहेकाले पटक पटक यस्तो बदमासी गर्दै आएको अभिभावकको आरोप छ । पछिल्लो तीन दिनदेखी अङ्ग्रेजि, नेपाली र विज्ञान विषयको परीक्षामा पुरानै प्रश्नपत्रबाट परीक्षा लिइएको छ ।

लगातार तिनदिन पुरानै प्रश्नपत्रको प्रयोग भएपछि अभिभावकहरु घटना सार्वजनिक गरेका हुन् । हजारौं विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने संयोजक यादवमाथी कडा कारबाही हुनुपर्ने अभिभावकहरुले माग छ ।

यता रौतहटका सिडियो बसुदेव घिमिरेले जिल्ला शिक्षा समन्वय ईकाईमार्फत नियमानुसार कडा कारवाहीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्