कोरोना विशेष अस्पताल ७२ घण्टाभित्र बनाइने



चितवन : कारोनाभाइरस संक्रमितको उपचार गर्न ७२ घण्टाभित्र सञ्चालनमा ल्याउने गरि चितवनको भरतपुरमा अस्थाई अस्पताल निर्माण गरिने भएको छ ।

नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम कार्कीका अनुसार ७२ घण्टामा सञ्चालन हुने उक्त अस्पतालमा आइसियु, एचडीयु र जनरल वार्डसहित ७० शैय्याको अस्पताल बनाउन लागिएको हो ।

त्यसोत दुई महिना अगाडी चीन सरकारले कोरोनाभाइरस संक्रमितको उपचारका लागि चीन हुवेइ प्रान्तको वुहान क्षेत्रमा १० दिन लगाएको एक हजार शैय्याको अस्पताल बनाएको थियो । सो अस्पतालमा चिनियाँ सेनाका एक हजार ४ सय मेडिकल स्टाफले कोरोनाभाइरसको उपचार शुरु गरेको थियो ।

नेपालमा पनि कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको छ । यदि नेपालमा पनि कोरोना संक्रमण देखियो भने संक्रमितको उपचारको लागि अस्पताल निर्माण गर्न लागिएको नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष कार्कीले जानकारी दिए ।

‘७२ घण्टाभित्र सञ्चालन हुने गरी कोरोनाको उपचार केन्द्रको रूपमा अस्पताल बनाउन लागिएको हो । जिल्लामा आवश्यक सुविधासहितको आइसियु, एचडीयु र जनरल वार्डसहित ७० शैय्याको अस्पताल बनाउन लागिएको हो’ कार्की भने ।

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रलाई भरतपुर कोरोना विशेष अस्पताल बनाउन लागिएको उनले बताए । आइसियु र हाइ डिपेन्डेन्ट यूनिट (एचडियु ) १०–१० शैय्याको हुने र बाँकी ५० जनरल बेड हुने बताइएको छ ।

चारैतिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले पहिलो पूर्वाधार बनाउने र ४८ घण्टामा मेडिकल सामाग्री ल्याएर सेवा दिने योजना रहेको उनको भनाई छ । नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष कार्कीले भने–‘कतै संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन लागेका हौँ ।’

साथै उनले अस्पतालको ओपीडी व्यवस्थापनको जिम्मेवारी लिएका छन् भने तीन दिनभित्रमा अस्पतालको पूर्वाधार तयार गर्न जिम्मेवारी दिइएको छ ।

जिल्लामा संक्रमित फेला परे उपचारको प्रवन्धको लागि अस्पतालको व्यवस्था गर्न लागिएको हो । यहाँ कोरोनाको शंका लागेका विरामीलाई मात्र राखेर उपचार गरिने छ ।

कोरोना विशेष अस्पताल निर्माणका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ । आवश्यक पूर्वाधारसहितको सामाग्रीत भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संघको समन्वयमा २४ घण्टाभित्र अस्पताल तयार गर्नेछन् । त्यसको ४८ घण्टामा बाँकी काम सम्पन्न गरेर उपचारका लागि अस्पताल सञ्चालन गरिनेछ ।

गत ३१ डिसेम्बरमा चीनको वुहान प्रान्तमा देखिएको कोरोनाभाइरस अहिले विश्वको १ सय ६२ देशमा फैलिसकेको छ । त्यस्तै कोरोनाबाट ७ हजार १ सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभरी कुल एक लाख ८२ हजार २ सय ६० जनाभन्दा बढी मानिस संक्रमित भएका छन् । यसैगरी चीन बाहिर संक्रमित हुनेको संख्या १ लाख १ हजार ४ सयभन्दा बढी रहेको छ ।

त्यसोत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको चेतावनी दिएको दिइसकेको छ  । डाब्लुएचओ प्रमुख डा. टेडरोस गेब्रिएसुसले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको बताएका थिए  ।

कोरोनाले विश्वव्यापी महामारीको रूप लिँदै गएकाले ढुक्क नबस्न उनले सबै मुलुकलाई अपिल गरेका थिए । योसँगै नेपाल सरकारले कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्