ओडार भत्कँदा २ गोठालासहित २ सय भेडाबाख्रा एकै चिहान



धादिङ : हिमपहिरोले ओडार भत्कँदा दुई गोठालासहित झन्डै दुई सय भेँडाबाख्रा पुरिएका छन्। जिल्लाको उत्तरी क्षेत्र रुवीभ्याली ४ हिन्दुङमा आइतबार बिहान ओडार भत्किएको हो ।

 

बिहीबारदेखि परेको भारी हिमपातले गोठ पुरेपछि ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङले नजिकैको ओडारमा शरण लिएका थिए । उनीहरु सुतेकै अवस्थामा ओडारसमेत भत्काएको खबरले पैदन ५ घण्टा दूरीको सेर्तुङबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

 

हेलिकप्टरसहित अवलोकन गर्न पुगेका सहायक प्रजिअ धोलकराज ढकालले भने, 'निकै ठूल्ठूला ढुङ्गा आएर ओडार नै पुरेको देखियो । केही थिचिएका बाख्रा बाहिरसम्म देखिन्छन् । उनले ढुङ्गा पन्छाउने अवस्था नरहेकोले थप मद्दतका लागि सदरमुकाम फर्केको बताए ।

 

ठूला ढुङ्गा हटाउन सक्ने गरी विस्फोटन वा अन्य कुनै विकल्प अपनाउने परे पुन: औजारसहित नेपाली सेनाको टोली तत्काल खटाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्