नेपाल र पोखरेललाई पुरस्कृत गरिने



विराटनगर : दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७५ यो वर्ष प्राडा माधवप्रसाद पोखरेल र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको   छ ।  

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा आइतबार बसेको वैठकले सो निर्णय गरेको   हो । भाषा साहित्यतर्फ ५१ हजार रुपैया तथा पत्रकारितातर्फ २५ हजार रुपैया राशि रहेको सो पुरस्कार आउँदो फागुन अन्तिममा एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिने प्रतिष्ठानका कोष व्यवस्थापक शरदराज सुवेदीले जानकारी दिए ।

विराटनगरका वरिष्ठ साहित्यकार दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले बुवाको नाममा १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई विगत तीन वर्षदेखि प्रतिष्ठानले पुरस्कार वितरण गर्दै आएको छ । 

प्रतिष्ठानले यसअघि प्राडा गोविन्दराज भट्टराई तथा डा.अभि सुवेदीलाई भाषा साहित्य र अन्नपूर्ण पोस्टका प्रधानसम्पादक हरिबहादुुर थापा र पत्रकार महासंघ मोरङका पूर्वसभापति शिववहादुर कार्कीलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्