प्रहरीले नियम विपरित कुखुरा नष्ट गरेको आरोप



जनकपुरधाम : सर्लाहीका एक पोल्ट्री व्यवसायीले प्रहरीले जबर्जस्ती आफ्नो कुखुराको चल्ला नष्ट गरेको आरोप लगाएका छन् ।

सर्लाहीको लालबन्दीमा यादव सप्लायर्स पोल्ट्री फर्म सञ्चालन गर्दै आएका रामवीर यादवले आफूले काठमाडौं डेलिभरी गर्नका लागि किनेको कुखुरा प्रहरीले जबर्जस्ती नष्ट गरेको आरोप लगाएका हुन् ।

जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले व्यवसायीलाई मार पार्ने गरी प्रहरीले कुखुरा नष्ट गरेकोमा आपत्ति जनाए । १९ वर्षदेखि व्यवसाय गर्दै आएका रामवीरले काठमाडौँको प्रतिभा मिट हाउस प्रालिमा डेलिभरी गर्नका लागि फागुन २२ गते राति साढे ९ बजे सिरहा माडरबाट अढाई लाख मूल्य बराबरको कुखुरा खरिद गरेका थिए ।

उनले क्वारेन्टाइनबाट समेत बिल लिएका थिए । तैपनि सिरहा वडा नं.७ स्थित ट्राफिक बिट नजिक सोही राति १० बजे गाडी सहित कुखुरा आफ्नो नियन्त्रणमा लिएको बताए । फागुन २२ गते नियन्त्रणमा परेको कुखुरा छोडाउन डिएसपी विनोद घिमिरेसंग कुरा गर्दा समेत कुनै पहल नगरेको उनले दु : खेसो पोखे । आफूले सबै नियम प्रक्रिया पूरा गरेको सुनाउँदा समेत उनले नसुनेको बताए ।

यता यादवले प्रहरीले आफ्नो ना ४ च ९३६४ नम्बरको गाडी भन्सारमा पठाएको र सवारी चालकलाई समेत १८ दिनदेखि प्रहरीले नियन्त्रणमा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्