सवारीसाधनका लागि देशभर रुट पर्मिट खुल्ला



काठमाडौं : आज (बिहीबार)देखि सार्वजनिक सवारीसाधनले रुट पर्मिट लिन नपर्ने भएको छ ।

एक महिनाका लागि देशभर रुट पर्मिट खुल्ला रहने यातायात व्यवस्था विभागले जनाएको छ । चैत मसान्तसम्म सबै शैक्षिक प्रतिष्ठान बन्द हुने र परीक्षा समेत स्थगित भएकाले विद्यार्थीहरू मुख्य शहरबाट एकै पटक घर जाने भएकाले बैशाख ३ गतेसम्म रुट परमिट खुला गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशन गोगनबहादुर हमालले नेपाल-भारत संचालन हुँदै आएका सबै बस सेवा बन्द रहने जानकारी दिए । उनले भने, ‘देशभर रुट पर्मिट खुला राख्ने र नेपाल–भारत सम्पूर्ण बस सेवा बन्द गर्ने निर्णय भएको छ ।’ हाल १३ ओटा रुटमार्फत संचालनमा रहेको नेपाल भारतमैत्री बस सेवा तत्कालको लागि स्थगित गर्ने उनले बताए ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यो व्यवस्थाले यात्रुहरुलाई सहज हुने बताए ।

यसैबीच नयाँ लाइसेन्सका लागि आवेदन लिने र ट्रायल दिने कार्य स्थगित गरिने भएको छ । आगामी बुधबारदेखि लाइसेन्स नवीकरण र प्रतिलिपीबाहेक अन्य सेवाहरु बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्