कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण



काठमाडौं : चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । मंगलबार ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूत होउ यान्छीले सडकको औपचारिक हस्तान्तरण गरेका हुन् ।

 

चीनले पाँच वर्ष लगाएर कोटेश्वरबाट कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको छ । चीनले करिब ५ अर्ब अनुदान सहायतामा कोटेश्वर–कलंकी सडक खण्ड विस्तार गरेको हो । 

 

चीनले हस्तान्तरण गरेपछि प्रधानमन्त्री ओलीले सो सडक खण्डको उद्घाटन गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु¥याउँदै आएको सहयोगको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।

 

प्रधानमन्त्री ओलीले हिमाल, पहाड र नदीबाट सुरु भएको चीनसँगको सम्बन्ध समस्यारहित रहेको पनि उल्लेख गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियान सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको पनि स्पष्ट पारे ।

 

चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिबद्ध रहेको बताए । काठमाडौंको २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । विस्तारको काम सकिए पछि यो सडक खण्ड आधुनिक स्वरुपमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्