दरबन्दीका चिकित्सक काठमाडाैंमा, स्वास्थ्य सेवा प्रभावित



विदुर : जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी रहेका चिकित्सक काठमाडाैं बस्दा नुवाकोटको स्वास्थ्य सेवा प्रभावित भएको छ । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले दैनिक बिरामी काठमाडाैं जानुपर्ने बाध्यता छ ।

 

चिकित्सककै अभावले बिरामी काठमाडाैं पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ । सहज र सुविधायुक्त स्वास्थ्यसेवा प्रवाह गर्ने घोषणा राज्यले गरे पनि जिल्लास्थित स्वास्थ्य संस्थामा भने चिकित्सक आउन नमान्दा समस्या भएको अस्पतालकी निमित्त प्रमुख देवकी खतिवडाले बताइन् ।

तीनजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल नुवाकोटमा सबै दरबन्दी रिक्त छन् । विगत ६ महिनादेखि विषेशज्ञ चिकित्सक अभावमा गम्भीर बिरामी उपचारका लागि काठमाडौं गइरहेका छन् । दैनिक रुपमा दुई सय भन्दा बढी बिरामी अस्पताल आउने गरेका छन् । 

भूकम्पले पूर्णरुपमा क्षति पुगेको जिल्ला अस्पतालको नयाँ संरचना निर्माण भइरहेको छ । ५५ शय्याको जिल्ला अस्पतालले भूकम्पपछि २५ शय्यामात्रै राखेर सेवा प्रवाह गर्दै आएको थियो । बिरामीको चाप बढेसँगै ३७ शय्या बनाइएको छ । जिल्ला अस्पतालमा दरबन्दीमा रहेका चिकित्सक काजमा भन्दै काठमाडाैंमै बसिरहेका छन् । 

प्रदेश र सङ्घअन्तर्गत जिल्ला अस्पताल विकास समितिले काजमा गएका चिकित्सक जिल्लामा नै पठाउन आग्रह गरे तापनि सुनुवाइ नभएको समितिका अध्यक्ष अर्जुनप्रसाद भट्टले बताए । अस्पतालमा दैनिक नुवाकोट, रसुवा र धादिङका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्