१४ वटा सिलिण्डर ग्यास जफत



दैलेख : व्यापारीहरुले खाना पकाउने ग्यासको अभाव सिर्जना गराएको भन्दै उपभोक्ताहरुले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमन गरेको छ ।

अनुगमनको क्रममा लुकाएर राखेका १४ वटा ग्यास सिलिण्डर जफत गरेको हो । व्यापारीहरुले ग्यास लुकाएर अभाव सिर्जना गर्ने गरेको बढी मूल्यमा बिक्री गर्ने गरेको भन्दै गुनासो बढेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा प्रहरी निरीक्षक नैनबहादुर साउद र पत्रकार सहितको टोलीले ग्यास बिक्रेताको पसलहरु अनुगमन गरेको थियो ।

टोलीले दैलेखको पुरानो बजारमा रहेको श्रेष्ठ भाँडा पसलबाट ११ सिलिण्डर र एलिजा स्टोरबाट ३ वटा सिलिण्डर जफत गरिएको क्षत्रीले बताए ।

‘हामीसँग स्टक छैन’ भनिसकेपछि भेटिएका ग्यास जफत गरिएको र उक्त विषयमा कानुनी कारवाही अगाडि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । विपदको समयमा अभाव सिर्जना गरेको विषयमा उभोक्ताको गुनासो आउना साथ प्रशासनले तत्काल अनुसन्धान गरी दोषी भेटिएमा कडा कारवाही गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्