अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमा



काठमाडाैं: काभ्रे पाँचखाल– ६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरूले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरू अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे । 

बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ । त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए । छोरा हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको थियो । दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका उनले राति ८ बजे घरमा फोन गरेका थिए । उनको स्वर अत्तालिएको थियो । त्यसपछि सम्पर्क हुन सकेन । 

भोलिपल्ट ३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे । दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लास गाड्यो, यसको जानकारी मिजार परिवारले पायो । शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । उनीहरू घटनास्थल पुग्दा लास गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट लास निकाले । लास अजितकै थियो । 

प्रहरीले पोस्टमार्टमसमेत गरेको भनेको थियो । तर, मृतकको शरीरमा कहीँ–कतै चिरफार गरेको भेटिएन । आफन्तले गाडिएको लास पुनः उत्खनन गरी काठमाडौंस्थित शिक्षण अस्पताल ल्याए । उनको लास अझै अस्पतालमा छ । मिजार परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले युवतीका माइतीपक्षका चार जनालाई पक्राउ ग¥यो । तर, जिल्ला अदालतले तारेखमा छाड्यो । यसरी काभ्रेका युवालाई धादिङमा लगेर मारिएको र पोस्टमार्टम पनि नगरी हतार हतार गाडिएको स्पष्ट हुंदाहुंदै पनि कुनै कारबाही नभएकोमा मिजार परिवार आक्रोशित छ । दोषीलाई कारबाही नभएसम्म हामीले शब नउठाउने अडान लिएका छन् ।

पोस्टमार्टम रिर्पोट नै गलत बनाएर प्रहरीले दोषी उम्काउन खोजेको ठहर व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समिति अन्र्तगतको उपसमितिले गरेको थियो । गजुरी प्रहरी र गजुरी स्वास्थ्य चौकीले युवतीको माइती पक्षको परिवारको प्रलोभनमा परेर मिजारले आत्महत्या गरेको रिर्पोट बनाएको ठहर उपसमितिले गरेको थियो । तर यो विषय आफैँ अलपत्र परेको नयाँपत्रिकामा खवर छ । 

प्रतिक्रिया दिनुहोस्