सिंहदरबारको रूप फेरिँदै



काठमाडाैं: सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितको उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो । 

मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङरोगनसहित सबै मन्त्रालयमा सफाइ अभियान सम्पन्न गरिसक्न तथा परिसरभित्र रहेका सबै पुराना सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसअनुसार अहिले सबै मन्त्रालय आयोग र निकायले अभियान चलाइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

 

काम लाग्ने पुराना सवारी स्थानीय तहलाई 

गत ३१ भदौमा मुख्यसचिव रेग्मीको नेतृत्वमा बसेको सिंहदरबार परिसर व्यवस्थापनका सन्दर्भमा बसेको बैठकको २६ बुँदे निर्देशन दिएको थियो । त्यसपछि रेग्मीकै नेतृत्वमा बसेको बैठकले सिंहदरबारभित्र रहेका पुराना सवारीसाधनको आवश्यकतानुसार मर्मत–सम्भार गरेर चलाउन र स्थानीय तहलाई हस्तान्तरण गर्न भनिएको थियो । सो निर्देशनअनुसार अहिले ७० वटाजति पुराना सवारी मर्मत–सम्भारबाट चलाउन सकिने र एक सयभन्दा बढी सवारी लिलाम गर्ने गरी सबै मन्त्रालय र आयोगले तयारी गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयका सहसचिव प्रवक्ता कुँवर नेतृत्वको टोलीले सफाइ अभियानको नियमित अनुगमन गरिरहेको छ । 

रङरोगन, हरियाली प्रवद्र्धन, सडक व्यवस्थापन 

सिंहदरबारभित्र अहिले सबै मन्त्रालय र निकायले आ–आफ्ना भवनभित्र, बाहिर, वरपर, भर्‍याङ, बरन्डाको पूर्ण सफाइ गर्ने तथा भवनको अगाडि–पछाडि, दायाँ–बायाँ हरियाली प्रवद्र्धन गर्ने काम भइरहेको छ । त्यस्तै, एकीकृत पार्किङको अस्थायी व्यवस्था, सडकमा रोड मार्किङ र मर्मत–सम्भारको काम तीव्र पारिएको छ ।

सिंहदरबारको इतिहास म्युजियम बनाउने योजना 

मुख्यसचिव नेतृत्वको उच्च अधिकारीको बैठकले संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी सिंहदरबारको इतिहाससहितको म्युजियम (संग्रहालय) बनाउन निर्देशन दिएको थियो । सफाइ अभियानसँगै निर्देशनअनुसार संग्रहालयको काम पनि सम्पन्न हुने प्रवक्ता कुँवरले जानकारी दिए । 

झाडी फाँडेर मैदान बनाइँदै

अहिले सिंहदरबारभित्र गृह मन्त्रालयको पश्चिमतर्फ चौर सम्याउने, परराष्ट्र मन्त्रालय पछाडिको झाडी सफाइ गरेर सम्याउने काम भइरहेको छ । जग्गा सम्याएर ठाउँ खाली भएपछि सहरी विकास मन्त्रालयले सिंहदरबार परिसरको विस्तृत गुरुयोजना तयार गर्ने तयारी गरेको नयाँपत्रिकामा खवर छ । 

प्रतिक्रिया दिनुहोस्