कागजमा पोको पारेर घूस



ललितपुर: एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे। उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए। कर्मचारीले हतारहतार गोजीमा पैसा हाले। कालो ज्याकेट लगाएका ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले। पैसा दिने युवक कार्यालयको पछिल्तीरको झ्यालमा गएर उभिए। आइतबार दिउँसो १:१६ बजे। ललितपुर, नापी कार्यालयको प्राविधिक फाँट अन्तरगत कोठा नम्बर ५ को दृश्य हो यो।

दिउँसो १:३५ बजे। मालपोत कार्यालयको प्रतिक्षालयमा ३ जना गफिइरहेका थिए। उनीहरुमध्ये एक युवकले भने, ‘तपाईंको कामका लागि ४ हजार लाग्छ।’ जग्गा नामसारी गर्न आएका ती सेवाग्राहीले भने, ‘त्यत्रो पैसा त दिन सकिन्नँ। अलि मिलाएर गर्नुस् न।’ ती युवकले भने, ‘कर्मचारीदेखि सबैलाई मिलाएर काम गराउनु पर्छ। ४ हजार त लागिहाल्छ दाइ।’ झण्डै १५ मिनेटको गलफदीपछि उनीहरुले तीन हजारमा कुरा मिलाए। युवक फाइल बोकेर कार्यालयभित्र पसे। सेवाग्राही बाहिर उभिएर सँगैका साथीलाई भने, ‘एकछिनको कामलाई त्यत्रो पैसा ! भ्रष्टचारले जुलुम बनायो देशलाई।’

मालपोत र नापि कार्यालयसँगै जोडिएको छ। कार्यालय सुधारका प्रयास नभएका होइनन्। आफ्नै भवनमा सञ्चालित कार्यालय अपांगमैत्री छ। ह्वील चियर गुडाएरै सेवा लिन मिल्छ। नागरिक वडापत्र प्रष्ट देखिने ठाउँमा टाँसिएको छ। कार्यालयसम्बन्धी सुचनाहरु परिसर वरपर जताततै टाँसिएका छन्। नापि विभागमा कम्प्युटरको मोनिटर सेवाग्राहीले पनि देख्ने गरि राखिएको छ। भित्तामा जताततै देख्न सकिन्छ, ‘अशक्तलाई सहयोग गरौं।’ ‘नियम संगत काम आजको आजै हुन्छ।’ ‘हामी भ्रष्टचार विरोधी हौं।’ ‘आशा छ हाम्रो कामबाट यहाँहरु सन्तुष्ट हुनुहुन्छ।’ ‘मोलपोत कार्यालय तपाईं हाम्रो आफ्नै कार्यालय हो। यसलाई सबैले माया गरौं।’

कार्यालयभित्र सेवाग्राही बस्न बनाइएको प्रतिक्षालय छ। टोकन नम्बरअनुसार सेवाग्राहीले सेवा लिइरहेका छन्। नापि विभागभित्र कर्मचारीको नामावली र कार्यविवरण लेखिएको बोर्ड ढोकामा टाँसिएको छ। छेउमा छ सुझाव पुस्तिका र जनगुनासो पुस्तिका। त्यहाँ सेवाग्राहीले सुझाव लेखेका छन्। प्रायः कर्मचारीले परिचयपत्र भिरेका छन्। घाम ताप्न निस्कने, सेवाग्राहीलाई कुराएर गलफती गरेर बस्ने प्रायः देखिएन।

कार्यालयमा केही सुधारका प्रयास भएका छन्। कर्मचारीको काम गर्ने शैली र प्रवृत्तिबाट भने सेवाग्राही अझै सन्तुष्ट भेटिएनन्। ललितपुर बुङ्मतीका बाबुराजा महर्जन भन्छन्, ‘कोसिस चाँही गरेको देखिन्छ। तर अवस्था उस्तै छ।’

नियम मान्दैनन् लेखापढी व्यवसायी

लेखापढी व्यवसायीले कार्यालय हाताभित्र आफ्नो कार्यालय राख्न नपाउने निर्देशन गत भदौमै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जारी गरेको थियो। लेखापढी व्यवसायीको कार्यालय १५ दिनभित्र बाहिर सार्न निर्देशन समेत गरिएको थियो। तर ५ महिना वित्दासमेत परिसरभित्रै काउन्टर खोलेर कार्यालय सञ्चालन गरिरहेका छन्। मालपोत विभागमा सिसि क्यामेरा राखिएको छैन। तर, लेखापढी व्यवसायीको कार्यालयमा सिसि क्यामेरा जडान गरिएको छ। अन्नपुर्णबाट

प्रतिक्रिया दिनुहोस्