मेहनत किसानको, नाफा बिचौलियालाई



काठमाडौं: मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो। प्राकृतिक न्याय भन्छ, जसले मेहनत गर्छ उसले फल पाउँछ। तर यहाँ किसानको पसिनामा बिचौलियाले फाइदा लिइरहेका छन्।

राजनीतिक पार्टीहरू निर्धो किसानको अधिकारका पक्षमा  बोल्छन् तर सरकारमा गएपछि तिनैको बोली बन्द हुन्छ। चितवनमा भएको घटना यही नीतिको पछिल्लो उदाहरण हो। यसअघि चितवन र सर्लाहीका किसानले लागतै नउठेपछि गोलभेडा, तरकारी र दुग्धजन्य पदार्थ सडकमा फालेर विरोध जनाएका थिए। तर सरकारले उनीहरूको आवाज कहिल्यै सुनेन।

बजारमा बिचौलियाको राज भएको सरकारलाई थाहा नभएको होइन। बिचैलियाकै कारण किसानले उत्पादन लागतसम्म पाउन नसकेका हुन्। उनीहरूले किसानलाई थोरै मूल्य दिएर बजारमा महँगोमा बेचिरहेका छन्। सरकारले बिचौलियाको तह कम गर्ने र किसानलाई उचित मूल्य दिने नीतिगत व्यवस्था मिलाएको दाबी गर्दै आएको छ।  तर व्यवहारमा लागू नहुँदा चितवनका जस्ता घटना बर्सेनि दोहोरिँदै आएका छन्।  

गत शुक्रबार बन्दाखेतीमा डोजर चलाउने चितवन खैरहनी नगरपालिका–६ तुलसीपुरका किसान पुरन महतोले उत्पादन लागत नपाएपछि विरोध जनाउन डोजर लगाएर बन्दा नष्ट गरेको बताए। ३० कठ्ठा जमिनमा बन्दा लगाएका महतोले बिचौलियाका कारण भाउ नपाएको दुःखेसो पोखे। ‘कालीमाटीमा २५ रुपैयाँमा बिक्री हुने बन्दा व्यापारीले हामीसँग दुई रुपैयाँमा पनि खरिद गर्न पनि मानेनन्,’ महतोले मंगलबार टेलिफोनमा नागरिकसँग भने, ‘बिचौलियाका कारण हामी मारमा छौं। सरकारले बिचौलिया कम गर्ने भने पनि गर्न सकेको छैन।’

महतो व्यापारी खोज्दै काठमाडौं आएका थिए। दुई रुपैयाँ किलो भन्दा धेरै नदिने भने पछि उनले डोजर लगाएर नष्ट गरे। ‘काठमाडौंमा ११ गुना महँगोमा बिक्री भए पनि मूल्य बढाएर किन्न कोही तयार भएनन्। किसानका समस्याबारे सरकारी निकायले सुन्दैनन्,’ महतोले भने, ‘नाफा खान पल्केका व्यापारीले सुन्ने कुरै भएन।’ व्यापारीहरू चितवनदेखि काठमाडौंको ढुवानी भाडा करिब पाँच रुपैयाँ प्रतिकिलो (लोडअनलोडसहित) रहेका बताउँछन्। यही तथ्यांक मान्ने हो भने पनि दुई रुपैयाँमा किनेको एक किलो बन्दामा बिचौलियाले १८ रुपैयाँ नाफा लिइरहेका छन्। तरकारीबाहेक अन्य व्यापारमा सम्भवतः यति धेरै नाफा छैन। 

अन्य तरकारीमा पनि समस्या उस्तै छ। चितवनको ग्रामीण ताजा तरकारी तथा फलफूल सहकारी संस्था र कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यलाई तुलना गर्दा धेरै गुणा बढी नाफा लिएको देखिन्छ। चितवनमा मंगलबार २० रुपैयाँ किलोमा बिक्री भएको केराउ काठमाडौंमा ५५ रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै आठ रुपैयाँ किलोको काउलीलाई काठमाडौं कालीमाटीमा ३५ रुपैयाँ मूल्य राखिएको छ। चितवन र काठमाडौंको बजारमा प्रतिकिलो मूलामा ३०, भन्टा ४२, लौका ३५, जुकेनी ४५, ब्रोकाउली ४० र टमाटरमा ४० रुपैयाँ अन्तर छ। अन्य तरकारीमा पनि उच्च नाफा राखिएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्