१० दिनमा राजधानीबाट १२ लाख र भारतबाट ५ लाख नागरिक गाउँ पसे



काठमाडौं : कोरोनाको त्राससँगै सहरका मान्छे सोहोरिएर गाउँ पसेका छन् । भारतबाट सीमा नाकाहुँदै ठेलमठेल फर्किएका हजारौँको भीड पनि गाउँमै पुगेको छ । तेस्रो मुलुकबाट जेजति फर्किए, ती पनि गाउँमै गएका छन् । 

  • गाउँका क्वारेन्टाइन रोजगारीका लागि भारत गएका र कोरोना संक्रमण फैलिएपछि गाउँ फर्किएका सर्वसाधारणलाई कतिपय गाउँमा क्वारेन्टाइनमा राखिएको छ । तर, ती क्वारेन्टाइनको अवस्था कस्तो छ ? अछाम मंगलसेनमा रहेको क्वारेन्टाइनको यो तस्बिरले देखाउँछ, जहाँ ५० जनाको समूहमा २८ पुरुष र १० महिलामात्र होइन, १२ बालबालिका पनि असुरक्षित बसाइमा छन् ।

तर, गाउँमा संक्रमण फैलिए जुध्ने प्रभावकारी तयारी छैन । मान्छेको चापका तुलनामा क्वारेन्टाइन र आइसोलेसन बेड नगन्य छन् । स्वास्थ्य संस्थाहरूमा सामान्य उपकरणको समेत अभाव छ ।

१ देखि १० चैतसम्म १२ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका छन् । यस अवधिमा सात लाख भने उपत्यकामा भित्रिएका छन् । उपत्यकाबाट बाहिरिएका धेरैजसो सार्वजनिक यातायात चढेर गृहघर गएका छन् । उनीहरूमध्ये कतिपय कामविशेषले आएर फर्किनेहरू पनि छन् । उपत्यकाबाहिरका सहरहरूबाट समेत ठूलो संख्यामा सर्वसाधारण गाउँ पुगेका छन् । 

त्यस्तै, भारतमा कोरोना संक्रमण देखिएपछि नेपाल–भारत सीमा क्षेत्रमा पनि स्वास्थ्य जाँच सुरु गरिएको थियो । त्यसबीचमा करिब १० लाखको ज्वरो परीक्षण भएको छ । सशस्त्र प्रहरीको तथ्यांकअनुसार २४ फागुनदेखि १२ चैतसम्म सीमामा रहेका सशस्त्रको हेल्प डेस्कमा मात्रै सात लाख चार हजारको ज्वरो परीक्षण गरिएको छ । त्यसमध्ये ९० प्रतिशत नेपाली र १० प्रतिशत भारतीय भएको सशस्त्रका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठको भनाइ छ । 

भारतबाट फर्किने कतिपयलाई सेनाको स्वास्थ्य टोलीले परीक्षण गरेको थियो । कतिपय भने परीक्षण नै नगराई भित्रिएका छन् । सबै गरी भारतबाट करिब १० लाख भित्रिएको र यसमध्ये आधाजसो सीमा क्षेत्रका नागरिक भएको गृह मन्त्रालयको आकलन छ । भारतमै रोजगारी गरिरहेका नेपाली पाँच लाखजति फर्किएको गृहको अनुमान छ । भारतमा संक्रमण देखिएयता सीमामा परीक्षण थालिएको थियो । उताबाट आएका कतिपय क्वारेन्टाइनबाट समेत भागेका थिए । 

नौ दिनमा विदेशबाट १५ हजार भित्रिए
१ चैतयता विभिन्न देशबाट नेपालमा १५ हजारजना भित्रिएको अध्यागमन विभागको तथ्यांक छ । उनीहरू अधिकांश नेपाली हुन् ।सरकारले उनीहरूलाई अनिवार्य रूपमा होम क्वारेन्टाइनमा बस्न भनेको थियो । तर, त्यसको अनुगमन हुन सकेको छैन । संक्रमणका पछिल्ला दुवै संक्रमित विदेशबाट आएको प्रस्ट भइसकेको छ । आएका १५ हजारमध्ये अरूमा पनि संक्रमणको आशंका छ । तर, उनीहरू कहाँ छन् भने राज्यलाई जानकारी छैन ।

चितवन : ११२ आइसोलेसन वार्ड छन्, क्वारेन्टाइन छैन 

चितवनमा स्थानीय तहले केही आइसोलेसन वार्ड तयार गरे पनि क्वारेन्टाइनको व्यवस्था गरेका छैनन् । भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्थायी अस्पताल’ सञ्चालन गरिएको छ । अस्पतालमा १०–१० आइसियू र एचडियूसहित जम्मा ७० आइसोलेसन बेड छन् । भरतपुर अस्पतालमा पनि १९ बेडको आइसोलेसन वार्ड छ । तर, निजी अस्पतालले भने कुनै तयारी नै गरेका छैनन् । यसअघि प्रशासनले प्रत्येक अस्पताललाई आइसोलेसन वार्ड बनाउन भनेको थियो । 

रत्ननगर नगरपालिका–१४ स्थित गुञ्जमान अस्पतालमा २० बेडको आइसोलेसन वार्ड बनाइएको छ । कालिका, खैरहनी र राप्ती नगरपालिकाले रत्ननगर नगरपालिकासँगै सहकार्य गरेका छन् । उनीहरूले पनि बिरामी आए गुञ्जमान अस्पतालमै राख्ने निर्णय गरेका छन् । 

भारतसँग सीमा जोडिएको माडी नगरपालिकाले वसन्तपुरस्थित कृषि सेवा केन्द्रको भवनमा तीन बेडसहितको आइसोलेसन वार्ड बनाएको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा क्वारेन्टाइन र आइसोलेसन दुवै छैन । 

दैलेख : ११५ बेडको क्वारेन्टाइन, १५ बेड आइसोलेसन 

दैलेखमा ११५ बेडको क्वारेन्टाइन र १५ बेडको आइसोलेसन बनाइएको छ । नारायण नगरपालिकाको रामपुरस्थित नारायण क्याम्पसका १५ कोठामा सय बेडको क्वारेन्टाइन बनाइएको छ । जिल्ला प्रहरी कार्यालयमा पनि १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ११ आइसोलेसन वार्ड तयार छन् । त्यस्तै, इन्द्र दल गुल्मले ४ आइसोलेसन बेड तयार गरेको हो । 

क्वारेन्टाइनका लागि आवश्यक पर्ने औषधि करिब दुई महिनालाई पुग्ने गरी स्टक राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. निरञ्जन पन्तले बताए । क्वारेन्टाइनमा बस्ने बिरामीलाई खाना, पानी र शौचालय व्यवस्थापन सुरक्षा निकायले जिम्मा लिएर थालेको इन्द्र दल गुल्मका गुल्मपति गणेश पन्तले बताए । स्वास्थ्यकर्मीहरूलाई स्थानीय स्तरमै ड्रेस निर्माण गर्न थालिएको छ । 

नगरभित्र ६ हजारभन्दा बढी मास्क वितरण गरिएको र जनचेताना बढाइएको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले बताए । तर, बिरामीको संख्या ह्वात्तै बढे ज्वरो नाप्ने मेसिन नभएको उनले बताए । ‘काठमाडौंबाट पाँचवटा मेसिन मगाउन खोजेको, तर बिल चाहिन्छ भनेपछि व्यापारीले दिएनन्,’ उनले भने । 

बारा : १०२ बेडको आइसोलेसन वार्ड र क्वारेन्टाइन बन्दै 

बाराको जितपुर–सिमाना उपमहानगरपालिकाले १०२ बेडसहितको आइसोलेसन वार्ड र क्वारेन्टाइन बनाउँदै छ । आइसोलेसन वार्ड निर्माण तथा सरसफाइमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र इलाका प्रशासन कार्यालयलगायत निकायले सहयोग गरिरहेका छन् । 

रुकुम (पश्चिम) : ३१ बेडको क्वारेन्टाइन, १० आइसोलेसन बेड

मुसिकोट नगरपालिकामा सेनाले २० तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ४–४ बेडको क्वारेन्टाइन बनाएका छन् । मुसिकोटमै रहेको जिल्ला अस्पतालमा पाँच बेडको आइसोलेसन तयार छ । नगरपालिकाले पनि सामुदायिक विद्यालय, होटेल, सहिद प्रतिष्ठानको सभाहलमा क्वारेन्टाइन र आइसोलेसन निर्माणको तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । नगरपालिकाले पाँच हजारभन्दा बढी मास्क उत्पादन गरिरहेको जनाएको छ । चौरजहारी नगरपालिकामा ७० बेडको आइसोलेसन तयारी गरेको निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । सामुदायिक विद्यालयहरूमा हजार बिरामी क्षमताको क्वारेन्टाइन निर्माणको तयारी भइरहेको छ । 

त्यस्तै, बाँफिकोट गाउँपालिका–४ छिन्खेतस्थित ल्याब भवनमा तीनजना क्षमताको क्वारेन्टाइन बनाइएको छ । गाउँपालिकाले प्रत्येक वडाका सामुदायिक विद्यालयलाई पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए ।  सानीभेरी गाउँपालिकामा एक बेडको आइसोलेसन मात्रै बनाइएको छ । सानीभेरी शिक्षा क्याम्पस र प्रत्येक वडाका सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत भूपालसिंह विष्टले बताए । 

त्रिवेणी गाउँपालिकाले पनि आइसोलेसन वार्ड र क्वारेन्टाइन बनाउने तयारी भइरहेको जनाएको छ भने आठबिसकोट नगरपालिकाले राडीज्युला शिक्षा क्याम्पसको भवनमा चार बेडको आइसोलेसन स्थापना गरेको छ । रुकुम (पश्चिम)का स्थानीय तहले मास्क उत्पादनसमेत गर्दै छन् भने कोरोना राहत कोष पनि बनाएका छन् । हेल्थ डेस्क स्थापना गर्नेदेखि पर्चा–पम्प्लेटबाट कोरोनाबारे जानकारी गराएका छन् ।

सिराहा : २० बेड आइसोलेसन

१७ स्थानीय तह भएको सिराहामा चार अस्पतालमा २० बेड आइसोलेसन तयार गरिएको छ । सिराहा अस्पतालमा पाँच बेड आइसोलेसन तयार गरिएको छ । त्यस्तै, निजीस्तरमा सञ्चालित धनगढीमाई नगरपालिकाका–९ मुसहर्नियास्थित आरको मेडिसिटी अस्पताल र कर्जन्हा नगरपालिका–९ कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा पाँच–पाँच बेडको आइसोलेसन तयार छन् । त्यस्तै, प्रदेश सरकारको योजनाअन्तर्गत लहानको सप्तऋषि अस्पतालमा पाँच शय्याको आइसोलेसन वार्ड बनाइएको छ । 

जिल्ला अस्पतालमा सूचना संकलन केन्द्र र ज्वरो जाँच क्लिनिक स्थापना गरिएको छ । चिकित्सकको सुरक्षाका लागि चाहिने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) नहुँदा समस्या भएको पालिकाका स्वास्थ्य संयोजकहरूले गुनासो गरेका छन् । लहान बजारमा अत्यावश्यक सामग्रीबाहेकका पसल बन्द छन् । हाटबजारहरू बन्द भएका छन् । 

रसुवा : नौ बेड आइसोलेसन तयार, २१० क्वारेन्टाइन र ३५ बेड आइसोलेसन बन्दै 

रसुवा अस्पताल धुन्चेमा चार बेड र जिबजिबे ग्रामीण अस्पतालमा पाँच बेड आइसोलेसन तयार छ । ७२ घन्टाभित्र सक्ने गरी दुई सय १० बेड क्वारेन्टाइन र ३५ बेड आइसोलेसन निर्माण सुरु भएको छ । 

चीनसँगको सिमाना रसुवागढी क्षेत्रमा रहेका होटेल तथा लज भाडामा लिई ३०, स्याफ्रुबेसीमा रहेको कोमिन श्याङफेल माविमा १५, धुन्चेस्थित कृषि ज्ञान केन्द्र र पशुविज्ञ तथा भेटेनरी अस्पतालमा ५०, कालिका गाउँपालिकाको कालिका हिमालय कलेजमा ५० बेडको क्वारेन्टाइन बनाइँदै छ । त्यस्तै, आमाछोदिङ्मो गाउँपालिकाको सरस्वती माविमा १५, नौकुण्ड गाउँपालिका भवनमा १५, उत्तरगया गाउँपालिकाको डाँडागाउँ माविमा १५ र बेत्रावतीस्थित सहकारी भवनमा २० बेडको क्वारेन्टाइन निर्माण भइरहेको छ । त्यस्तै, धुन्चेको महिला विकास भवनमा २० र जिबजिबे ग्रामीण अस्पतालमा १५ गरी ३५ बेडको क्वारेन्टाइन बन्दै छ ।  सवारी आवतजावत ठप्प छ, जिल्लाका व्यक्तिलाई स्वास्थ्य परीक्षण गरेर प्रवेश दिइएको छ । अत्यावश्यक कामका लागि मात्रै अर्को जिल्ला र एक–अर्को स्थानीय तहमा आउजाउ गर्न अनुमति दिइएको छ । 

सिन्धुपाल्चोक : १४ बेडको आइसोलेसन तयार

सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा चार आइसोलेसन बेड तयार छन् । त्यहाँ चौतारा अस्पतालका डाक्टरले सेवा दिनेछन् । चौतारा अस्पतालमा यसअघि नै ६ आइसोलेसन बेड तयारी अवस्थामा छन् । 

त्यस्तै, मेलचौरस्थित खुलाचउर र साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसमा क्वारेन्टाइन तयार भएको छ । मेलम्ची नगरपालिकाले मेलम्ची अस्पतालमा चार आइसोलेसन बेड र जागेश्वरी आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाएको छ । तर, स्वास्थ्य परीक्षण गर्ने सामग्री अभावले काम प्रभावित भएको मेयर डम्बरबहादुर अर्यालले बताए । 

बाह्रबिसे नगरपालिकाले सुनकोसीस्थित सामुदायिक भवनलाई क्वारेन्टाइन बनाएको छ । भोटेकोसी गाउँपालिकाले अध्यागमन कार्यालयको पुरानो भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने भएको छ । जिल्लाका सबै स्थानीय तह महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर प्रचारप्रसारमा लागेका छन् ।

जुगल गाउँपालिकाले स्थानीयको घरघर पुगेर साबुनपानीले हात धुन सिकाइरहेको छ । हेलम्बु गाउँपालिकाले प्रत्येक वडामा मास्कसहित व्यक्तिगत सुरक्षा सामग्री वितरण गरेको छ । यद्यपि, इन्द्रावती, सुनकोसी, लिसंखुपाखर, त्रिपुरासुन्दरी र बलेफी गाउँपालिकामा स्वास्थ्य उपकरण अभाव छ । इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले ज्वरो नाप्ने उपकरण, मास्क, स्यानिटाइजर र औषधि अभाव भएको बताए । 

खोटाङ : तीन बेड आइसोलेसन तयार, ३६ बेडको क्वारेन्टाइन बनाइँदै

दिक्तेल बजारमा ३६ शय्याको क्वारेन्टाइन निर्माण हुँदै छ । माउन्ड एभरेष्ट बोर्डिङ स्कुलमा क्वारेन्टाइन बनाउन लागिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी खोटाङले क्वारेन्टाइन निर्माण गर्ने जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । क्वारेन्टाइन निर्माणसँगै जिल्लामा सञ्चालित एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राख्ने निर्णय भएको छ । यसअघि दिक्तेल अस्पतालमा तीन बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । 

कैलाली : रंगशालामा  १०९ बेड आइसोलेसन 

सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा टेन्ट लगाएर आइसोलेसन बेड बनाएको छ । सेनाले १९ टेन्टमा ३९ बेड आइसोलेसन बनाएको हो । त्यस्तै रंगशालाको भवन र पूर्वतर्फको प्यारापिटपछाडि ७० आइसोलेसन बेड तयार छन् ।  नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्