प्रहरीमाथि राजनीतिकरण बढी भयो : मुख्यमन्त्री गुरुङ



दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरीमाथि बढी राजनीतीकरण भएकाले त्यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् । 

 

६७ औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज दमौलीमा गरेको ‘महिला हिंसा र लागुऔषधविरुद्ध सँगसँगै हिँडौँ’ अभियानको शुभारम्भ गर्दै उनले प्रहरीमाथिको बढ्दो राजनीतीकरण नरोकिएसम्म प्रहरीले स्वतन्त्र भएर काम गर्न नसक्ने बताए । 

 

‘प्रहरीमाथिको राजनीति अब बन्द गर्नुपर्छ’, उनले भने, ‘तबमात्र प्रहरीले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्न सक्छ ।’  

 

मुख्यमन्त्री गुरुङले नेपाल प्रहरी विश्वमै उत्कृष्ट रहेकाले यसलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न आवश्यक रहेको बताउँदै प्रहरी प्रशासनलाई स्रोतसाधन सम्पन्न बनाउन सके अपराध न्यूनीकरणमा प्रहरीले महत्वपूर्ण काम गर्नसक्ने धारणा व्यक्त गरे । 

 

‘प्रहरीमा स्रोत र साधनको मात्रै कमी हो, अरु सबै कुरामा नेपाल प्रहरी अब्बल छ’, उनले भने । 

 

मुख्यमन्त्री गुरुङले हिजो निरकुंशतन्त्रका विरुद्ध कर्मचारीलाई राजनीतिक दलले प्रयोग गर्ने गरेको भए पनि अब त्यसको अन्त्य हुनुपर्नेमा जोड दिदैं ‘कर्मचारीलाई राजनीति गर्न राजनीतिक दलले नै सिकाए तर जुन उपलब्धि हासिल गर्न कर्मचारीलाई प्रयोग गरियो, त्यो हासिल भइसकेको छ भने ।’ 

 

अपराधी कुनै पनि पार्टीको हुन नसक्ने भन्दै उनले अपराधका विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्