रौतहटमा भारतबाट आएका २४ जना क्वारेन्टाइनमा



रौतहट : रौतहटमा २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन र नियन्त्रण तथा रोकथाम गर्न देश बाहिरबाट आएका २४ जनालाई क्वारेन्टाइनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

भारतको मुम्बइ, दिल्ली, पञ्जाब, हरियाणा तथा अन्य मुलुकबाट आएका उनीहरुलाई प्रत्यक्ष निगरानी गर्न क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

उनीहरुलाई समाज र परिवारसँग घुलमिल हुन नदिन क्वारेन्टाइनमा राखिएको हो ।

‘क्वारेन्टाइनमा राखिएकाहरु कोरोना संक्रमित होइनन्, वैदेशीक रोजगारीबाट फर्किएकाहरुलाई हामीले अलग राखेका हौं, अहिलेसम्म उनीहरुको स्वास्थ्यमा कुनै किसिमको समस्या देखिएको छैन । सबै जना सामान्य अवस्थामा छन्’ प्रजिअ घिमिरेले भने ।

घिमिरेले १६ जनालाई गौर नर्सिङ्ग इन्स्टिच्यूट र ८ जनालाई चन्द्रनिहापुर अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।

रौतहटको विभिन्न स्थानिय तहमा गरी कुल ४ सय ९९ बेड संख्या भएको क्वारेन्टाइन तयार हुन लागेको छ । हालसम्म १ सय ८२ बेडको क्वारेन्टाइन तयार भइ सकेको र आजै बेलुकासम्म ९५ बेड अझै थपिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । साथै बाँकी बेडहरु तिन दिन भित्रमा तयार पारिने जनाएको छ ।

रौतहटको गौरमा नर्सिङ्ग इन्स्टिच्यूट र सिया पैलेस गरी ९० बेडको, चन्द्रपुरमा वृन्दावन, गुजरा र गढीमाई नगरपालिको संयुक्त रुपमा ८० बेडको, गरुडामा १०, दुर्गाभगवती गाँउपालिकामा ३०, माधवनारायणमा ५०, फतुवा विजयपुरमा १५, राजपुरमा २९, परोहामा २५, बौधीमाईमा १ सय, देवाही गोनाहीमा ४० र इशनाथ नगरपालिकामा ३० बेडको क्वारेन्टाइन तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्