प्रदेश ३ मा आज सार्वजनिक बिदा



हेटौँडा: प्रदेश ३ सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । एक साताअघिको प्रदेश मन्त्रिपरिषद् बैठकले सहिद दिवसको दिन प्रदेशका १३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले पहिलोपटक सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सहिद दिवसको अवसरमा प्रदेश ३ का सबै जिल्लाका सरकारी, गैरसरकारी कार्यालय, बित्तीय संस्था, विद्यालय र सेवा प्रदायक संस्थाको काम बन्द गर्दै सहिद दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । प्रदेश सरकारले प्रदेशस्तरीय सहिद दिवस मनाउन मुल समारोह समितिसमेत गठन गरेको छ ।

सहिद दिवसको अवसरमा मुख्यमन्त्री पौडेलले बुधबार बिहान साढे ७ बजे हेटौँडा ११ स्थित सहिद स्मारकमा माल्यार्पण गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक बिदाको निर्णयको बोधार्थ नेपाल सरकार गृह मन्त्रालयलाई दिएको छ। उता पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष सर्केस घलानको अध्यक्षतामा भएको गाउँ कार्यपालिका बैठकले २८५५ औँ सोनाम ल्होसारमा बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्