‘शहीदका सपना बमोजिम देश रुपान्तरण गर्ने बेला आयो’



काठमाडौँ : शहीद दिवसका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मृति पार्क पुगी श्रद्धाञ्जलि व्यक्त गरेका छन्।उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताए । प्रकृतिले धनी बनाएको नेपालको सुशासन र आर्थिक विकास लागि शहीदको सपनाबमोजिम सबै एकताबद्ध हुनुपर्नेमा भन्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको दाबी गरे।

'सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ' उनले भने 'जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भाबी पुस्तालाई सुम्पौँ।' सो अवसरमा नेपाली सेनाको टुकडीले शहीदप्रति सम्मान अर्पण गरेको थियो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो । 

शहीद दिवसका अवसरमा मंगलबार नै काठमाडौँ महानगरपालिकाले प्रभातफेरिको आयोजना गरेको थियो ।प्रभातफेरिमा गृहमन्त्री रामबहादुर थापासहित नागरिकको सहभागितामा थियो । रत्नपार्कस्थित शान्ति बाटिकाबाट सुररु भएको प्रभातफेरि लैनचौर पुगी समापन भएको थियो।  जहाँनियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा,  धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

यिनै ४ शहीदको सम्झनामा माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ । यही माघ १० गतेदेखि आजसम्म सप्ताहव्यापी रूपमा देशभर शहीद दिवस मनाइएको छ । प्रदेश नं ३ सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । 

प्रतिक्रिया दिनुहोस्