चितवनमा २६ जनामा डेंगुको संक्रमण



चितवन : जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ मा डेंगुको संक्रमण देखिएको छ। यो अवधिमा एक हजार तीन सय ७० को डेंगु परीक्षण गरिएको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुमार केसीका अनुसार डेंगु देखिएकामध्ये ११ चितवनका छन्। अन्य छिमेकी जिल्लाको रहेको उनले बताए। मुख्यरुपमा साउन, भदौ, असोजमा डेंगुको संक्रमण हुने गर्दछ।

गत आर्थिक वर्षमा ५९ मा डेंगु देखा परेको थियो। जसमध्ये ३२ चितवनका रहेको केसीले बताए। गत वर्ष हेटौँडा घर भएका एक जनाको चितवनमा उपचारका क्रममा डेंगुका कारण मृत्यु भएको थियो। आठ वर्षअघि जिल्लामा डेंगु सङ्क्रमणका रुपमा फैलिएको थियो। केसीका अनुसार सन् २०१० मा ७३९ मा डेंगुको संक्रमण भेटिएको थियो। जसमध्ये पाँचको मृत्यु भएको थियो।

त्यसपछिका वर्षमा क्रमशः संक्रमण घट्दै आएको छ। डेंगु नियन्त्रणका लागि यही माघ १४ गतेबाट इपिडिमियोलोजी महाशाखा र रत्ननगर नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ। एडिस एजेप्टाइ जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सर्छ।

प्रतिक्रिया दिनुहोस्