जनआन्दोलनका घाइते मुकेशको तेस्रो पटक शल्यक्रिया



काभ्रे: मुलुक परिवर्तनका लागि ज्यानको आहूति दिने शहीदको सम्झनामा आज देशभरि शहीद दिवस मनाइरहँदा जनआन्दोलनका घाइते मुकेश कायस्थ ओछ्यानमै छटपटिरहेका छन् ।

उनी २०६२ चैत २७ गते बनेपामा गोली लागी घाइते भएका थिए । उपचारको क्रममा अहिलेसम्म तीन पटक टाउकाको शल्यक्रिया गरिसकेका उनको अवस्था पछिल्लो समय झन् जटिल बन्दै गएको आमा मीरा कायस्थले बताइन् । पहिलेजस्तो बोल्न खोज्ने, हातखुट्टा चलाउनेजस्ता क्रियाकलापसमेत नदेखाएको कायस्थले बताइन् । मुकेशलाई गत असार १ गते बनेपास्थित शिर मेमोरियल अस्पताल भर्ना गरिएको थियो ।

त्यसको १५ दिनपछि नसाको उपचारको लागि ट्रमा सेन्टरमा १५ दिन उपचार गरिएको उनले बताइन् । चिकित्सकले पुन: टाउकोको शल्यक्रिया गर्नुपर्छ भनेपछि शल्यक्रिया नगरी घरमै राखिएको थियो । अवस्थामा सुधार नभएपछि काठमाडौँको मिडिसिटी अस्पतालमा पुन: मुकेशको टाउकोको शल्यक्रिया गरिएको कायस्थले बताइन् ।

प्रतिक्रिया दिनुहोस्