कोरोना भाइरस रोकथामका लागि पर्सामा ‘क्वीक रेस्पोन्स टिम’ गठन



वीरगन्ज : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि पर्सामा ‘क्वीक रेस्पोन्स टिम’ गठन गरिएको छ ।

वीरगन्जको नारायणी अस्पतालका मेडिकल अधिकृतको संयोजकत्वमा बनेको ‘क्वीक रेस्पोन्स टिम’ मा सदस्यहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, वीरगन्ज महानगरपालिकाका स्वास्थ्य सम्बन्धी हेर्ने अधिकृत तथा नारायणी अस्पतालका नर्सिङ अधिकृत रहेका छन् ।

कोरोना भाइरसको रोकथाम तथा पूर्व तयारी प्रभावकारी बनाउने, कसैमा कोरोनाको सङ्क्रमण देखिएमा तथा सङ्क्रमणको आशङ्का भएमा उनीहरूको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले ‘क्वीक रेस्पोन्स टिम’ गठन गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ललित कुमार बस्नेतले बताए ।

कोरोनाका शङ्कास्पद व्यक्तिहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न कुल बेड सङ्ख्याको १० प्रतिशत बेड पर्साका सम्पूर्ण निजी अस्पताललाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

बैठकले सरकारले निर्देश गरेको ‘लकडाउन’ को पालना गराउन सशक्त रूपमा प्रस्तुत हुन सुरक्षाका निकायलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्