कोरोना संक्रमितको उपचार गर्ने प्रादेशिक अस्पताल जनकपुरमा अन्य सेवा बन्द



जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमितको उपचारका बाहेकका सबै सेवा प्रादेशिक अस्पताल जनकपुरले बन्द गरेको छ ।

प्रादेशिक अस्पताल जनकपुरले आफ्ना अत्यावश्यक एवं आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको हो ।

प्रादेशिक अस्पताल जनकपुर अब कोरोना संक्रमितको उपचारतर्फ मात्रै केन्द्रित हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए ।

कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रण गर्न अस्पतालको सम्पूर्ण वार्डहरुलाई मर्ज गरी सीमित वार्ड मात्र सञ्चालनमा ल्याइएको डा।यादवले जानकारी दिए ।

उनले भने, ‘अस्पतालले सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्रशासनिक कर्मचारीहरुको रिजर्भ पुल निर्माण गरेको छ ।’

जनकपुर नर्सिङ क्याम्पस,पोषण पुनर्स्थापना गृह, एआइटी सेन्टर तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक र स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिएको उनले बताए ।

साथै अस्पतालमा भोली (आइतबार) देखि सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य उपस्थितिका लागि उनले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्